२१ आश्विन २०८१, सोमबार

गृह मन्त्रालयको कार्यसम्पादन सुधार कार्य योजना बनाउन पूर्व मुख्यसचिवको नेतृत्वमा समिति गठन

प्रकाशित मिति :  20 November, 2023 2:41 pm


काठमाडौँ । गृह मन्त्रालय सुधारका लागि कार्ययोजना तयार पार्न पूर्वमुख्य सचिव लीलामणि पौड्यालको संयोजकत्वमा अध्ययन समिति गठन भएको छ ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आज (सोमबार) सिंहदरबारमा पत्रकार सम्मेलन गरी आफ्नो मन्त्रालयको कामलाई अझै प्रभावकारी र परिणाममुखी बनाउने गरी एकीकृत कार्ययोजना बनाउन सो अध्ययन समिति गठन गरिएको जानकारी दिए ।

अध्ययन समितिमा पूर्वसचिवहरु शरदचन्द्र पौड्याल, शंकरप्रसाद कोईराला, लक्ष्मीप्रसाद ढकाल, प्राध्यापक डाक्टर खड्ग केसी, पूर्वप्रहरी महानिरीक्षक प्रकाश अर्याल, पूर्वसशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, समाजशास्त्री डा.बिन्दु पोखरेल, सूचना प्रविधि विज्ञ विजय गौतम छन् ।

समितिको सदस्यको सचिवको जिम्मेवारी भने गृह मन्त्रालयका नीति तथा योजना महाशाखाका सहसचिव थानेश्वर गौतमलाई दिइएको छ ।

अध्ययन समितिलाई कार्ययोजना तयार पार्न तीन महिनाको समय दिइएको छ । सो समयभित्र रहेर समितिले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, कारागार व्यवस्थापन, अध्यागमन व्यवस्थापन, स्थानीय प्रशासन र सेवा प्रवाह र राष्ट्रिय परिचय पत्र वितरणको कामलाई अझै प्रभावकारी बनाउनका लागि आवश्यक सुझाव दिने कार्यादेश पनि दिइएको उपप्रधानमन्त्री श्रेष्ठले बताए ।

समितिका संयोजक पूर्वमुख्यसचिव लिलामणि पौड्यालले सरकारले दिएको जिम्मेवारी इमान्दारिता र लगनशीलताका साथ पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । उहाँले आफूहरुले तयार पार्ने सो अध्ययन प्रतिवेदन कार्यान्वयनका लागि प्रधानमन्त्रीकै तहबाट प्रतिबद्धता आउनुपर्ने आवश्यकता औंल्याए ।



प्रतिक्रिया दिनुहोस !