२१ आश्विन २०८१, सोमबार

संसदको आगामी अधिवेशनमा सडक आश्रित मानवहरूको व्यवस्थापन हुने गरी विधेयक पेस हुन्छः प्रधानमन्त्री

प्रकाशित मिति :  20 November, 2023 5:31 pm


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहयोगापेक्षी सडक आश्रित मानवहरूको समुचित व्यवस्थापन हुने गरी आगामी संसद अधिवेशनमा विधेयक पेस गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मानव सेवा आश्रमले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले मानव सेवा आश्रमलाई सहयोगापेक्षी सडक मानव उद्धारका लागि आति आवश्यक पर्ने भवन, जग्गा, बाहनलगायतका सेवा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताए ।

‘बेवारिसे, असहाय, अशक्त, जोखिममा परेका, मानसिक असन्तुलन भएका, सहयोगापेक्षी सडक आश्रित मानिसहरूको समुचित व्यवस्थापन गर्न आउँदो संघीय अधिवेशनसम्म नेपाल सरकारले सोसम्बन्धी विधेयक तयार गरी पेस गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु,’प्रचण्डले भने, ‘संघ, पदेश र स्थानीय तहका सहयोगापेक्षी सडक मानव व्यवस्थापन गर्न आ आफ्नो तर्फबाट कार्यक्रम तथा बजेट व्यवस्थापन गर्न आवश्यक पहल र समन्वय गर्ने कुरा पनि प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।’

प्रचण्डले सबै प्रदेशमा एकरएक वटा सडक आश्रित मानव उद्दारका लागि आजैबाट सञ्चालनमा आउने गरी सवारीसाधन उपलब्ध गराउने घोषणा गरे । सडक मानवमुक्त बनाउने नेपाल सरकारको घोषणा पूरा गर्नका लागि एक महिनाभित्र मन्त्रिपरिषदबाट ठोस योजना बनाई अघि बढ्ने उनको भनाइ छ ।

‘मानव सेवा आश्रमलाई सरकारी तथा सार्वजनिक जग्गा, भवनको प्रयोग तथा संरचना निर्माण, उद्धार बाहन लगायत अति आवश्यक सहयोग गर्न नेपाल सरकार प्रतिवद्ध छ । आजैबाट सबै प्रदेशमा यस्ता अशक्तहरूलाई ओसारपसार गर्ने गाडी उपलब्ध गराइनेछ,’ प्रचण्डले भने, ‘सडक मानवमुक्त बनाउने नेपाल सरकारको घोषित उद्देश्य पूर्तिका लागि एक महिनाभित्र नेपाल सरकारको मन्त्रिपरिषद्बाट निश्चित योजना बनाई अघि बढ्ने विश्वास पनि दिलाउन चाहन्छु ।’

प्रधानमन्त्री प्रचण्डले प्रदेश र स्थानीय तहको सरकारलाई पनि सडक सहयोगोपेक्षी मानवहरूको उचित व्यवस्थापनका लागि आवश्यक बजेट तथा कार्यक्रमको व्यवस्थापन गर्न पनि आफूले समन्वय गर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !