२१ आश्विन २०८१, सोमबार

कार्बन उत्सर्जन बढी गर्ने देशलाई वित्त सहयोगका लागि बाध्य पार्नुपर्छ : मुख्यमन्त्री पाण्डे

प्रकाशित मिति :  21 November, 2023 1:57 pm


काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जलवायु परिवर्तनको असर भोगिरहेका देशहरूले पाउने वित्तीय सहयोग दिन बाध्य बनाउनुपर्ने बताएका छन् ।

मंगलबार काठमाडौँमा आयोजित जलवायु परिवर्तन सम्बन्धी राष्ट्रिय सम्मेलन समापन समारोहमा बोल्दै विकसित राष्ट्रहरू अझै पनि पीडित देशहरूलाई गर्ने भनेको सहयोगका लागि आनाकानी गरिरहेको बताएका हुन् ।

उनले जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा पीडित देशलाई सहयोग गर्ने सम्झौता गर्ने तर वित्त हस्तान्तरण गर्न आनाकानी गर्ने प्रणालीको अन्त्य गर्नुपर्ने जिकिर गरे । उनले पीडित देश भएकाले नेपालले यसको नेतृत्व लिन सुझाव दिए ।

उनले भने, “विकसित राष्ट्रहरू अझै पनि कतिपय अवस्थामा अन्कनाइरहेका छन् की यो वातावरणीय परिवर्तनका महासन्धि, सन्धिहरूमा हस्ताक्षर गर्नका लागि उनीहरूलाई बाध्य पारिनुपर्छ । बोल्ने मात्रै होइन, हामी यो फन्डमा यति पैसा राख्छौँ, यो गर्छौं भनेर यस्ता सम्मेलनमा भन्ने तर त्यसमा फन्ड नआउने अब यसको अन्त्य गर्नुपर्छ । यो लडाइँको नेतृत्व हामीले गर्नुपर्छ । अब हुने कोप २८ मा यो लडाइँ र अधिकार प्राप्तिको नेतृत्व नेपालले गर्नुपर्छ । केही कुरा हामीले परिवर्तन पनि गर्नुपर्छ ।”

उनले जलवायु परिवर्तनको नाममा नेपालमा धेरै खर्चहरू भएको बताउँदै त्याे खर्च अब कतापटी लैजाने भन्ने बारे पनि सोच्नु पर्ने बताए । उनले भने, “सफ्टवेयरमा धेरै खर्च गरेका छौँ, जनचेतनाको नाममा । अब त्यो सफ्टवेयरमा मात्रै होइन, हार्डवेयरमा पनि लागू हुनुपर्छ । विकासको मोडेल पनि हामीले चेन्ज गर्नुपर्छ । विशेष गरेर अहिले बाटो बनाउँदा स्वेल इरोजन बढी भएको छ । यसले प्राकृतिक विपत्ति निम्तिएका छन् ।”



प्रतिक्रिया दिनुहोस !