२१ आश्विन २०८१, सोमबार

‘अर्थतन्त्रका विषयमा सबै पक्षबिचको छलफलले निजी क्षेत्रको मनोबल बढाउँछ’

प्रकाशित मिति :  21 November, 2023 9:41 pm


काठमाडौँ । मुलुकको वर्तमान अर्थतन्त्रका विषयमा सरकारका सबै पक्षसँगको छलफलले निजी क्षेत्रको मनोबल बढाउने काम गर्ने आशा जगाएको निजी क्षेत्रले बताएको छ ।

मंगलबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सरकारका सबै निकायसहित निजी क्षेत्रसँग भएको छलफलपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा निजी क्षेत्रले यस्तो बताएको हो ।

निजी क्षेत्रसँग सरकारले थालेको अर्थतन्त्र चलायमान बनाउन छलफल सकारात्मक भएको भन्दै नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्सले यस्तो बताएको छ । सरकारले अर्थतन्त्रलाई चलायमान बनाएर गति दिने विषयमा निजी क्षेत्रसहित सरकारका विभिन्न निकायहरूसँगको छलफलले अर्थतन्त्रमा सुधार ल्याउने संकेत देखिको निजी क्षेत्रको आशा छ ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले सरकारका सबै निकायहरूसहित निजी क्षेत्रसँग मुलुकको वर्तमान अर्थतन्त्रका विषयमा छलफल गर्नु निजी क्षेत्रको लागि खुसीको कुरा भएको बताए ।

उनले सरकारका सबै निकायमा रहेको नीतिगत कमजोरीहरु समन्वयात्मक हिसाबले समाधान गरी अर्थतन्त्र चलायमान बनाउने विषयमा सकारात्मक भएको बताए ।

उनले सरकारसँगको छलफलले आगामी दिन आम नागरिक र निजी क्षेत्रको मनोबल बढाउने काम गर्ने विश्वास रहेको बताए ।अध्यक्ष ढकालले सरकारले अर्थतन्त्र चलायमान बनाउन पुँजीगत खर्च वृद्धि र निर्माण सम्पन्न भएका आयोजनाको भुक्तानी दिन आवश्यक रहेको बताए ।

उनले राष्ट्र बैंकले कर्जाका सहुलियतको व्यवस्था गर्ने विषयमा सरकार सकारात्मक भएको बताए । उनले सरकारले बैंकको कर्जा लिएर कर्जाको किस्ता तिर्न अफ्ठ्यारो भएको भए सहुलियत दिने विश्वास रहेको बताए ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सरकारले नीतिगत स्थिरता ल्याउनसके अर्थतन्त्र चलायमान हुने बताए । उनले सरकारको अस्थिर आर्थिक नीतिको कारण अर्थतन्त्र चलायमान बन्न नसकेको बताए ।

उनले सरकारले निजी क्षेत्रसहित सरकारी निकायहरु बिचको छलफल सकारात्मक रहेको भन्दै सरकारले अर्थतन्त्र चलायमान बनाउने विश्वास जगाएको बताए ।



प्रतिक्रिया दिनुहोस !