२१ आश्विन २०८१, सोमबार

शंखधर साख्वाःको सपना सामाजिक न्याय र समानताः मन्त्री शर्मा

प्रकाशित मिति :  22 November, 2023 11:01 am


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि रेखा शर्माले राष्ट्रिय विभूति शंखधर साख्वाःको सपना सामाजिक न्याय र समानता भएकाले आज पनि त्यो सपना पूरा गर्ने कार्यभार बाँकी नै रहेको बताएकी छन् ।

राष्ट्रिय विभूति शंखधर साख्वाः दिवसको अवसरमा पद्यरत्न लुमन्ति गुथिले शंखधर उद्यान रत्नपार्कमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक व्यवस्थाअनुकूल जनताको अवस्था परिवर्तन गरेर सामाजिक न्याय र समानताको सपना पूरा गरिने बताएकी हुन् ।

शंखधरले वि।सं ९३६ मा गरिवलाई ऋणमुक्त गर्ने र पशुपतिमा शूद्र जातिलाई प्रवेश गराएको र त्यसकै सम्मानमा नेपाल संवत् सुरु गरिएको प्रसंग उल्लेख मन्त्री शर्माले भनिन्, “एकातिर गरिव जनतालाई ऋण मुक्त गर्नु र अर्कोतिर जातीय विभेदको अन्त्यका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्ने शंखधर साख्वाःबाट आजका पुस्ताले उल्लेखनीय प्रेरणा लिनु जरुरी छ । अहिले पनि हामीले वर्गीय, जातीय, क्षेत्रीय, लैंगिकलगायतका तमाम उत्पीडिनबाट मुक्तिका लागि काम गरिरहेका छौं ।”

नेपालमा चलेका ठूलाठूला संघर्ष र क्रान्तिहरू समानताका लागि भएको उल्लेख गर्दै उनले राजनीतिक रूपमा सबैखाले विभेदको अन्त्य गरी समतामूलक समाज निर्माण गर्ने उद्घोषसहित सबै क्षेत्र र समुदायका अधिकार संविधानमा उल्लेख गरे पनि व्यवहारतः अझै सबैले समान अधिकारको महसुस गर्न नसकेको पनि बताइन् ।

“आजका दिनमा हेर्दा राजनीतिक व्यवस्था परिवर्तन गरे पनि जनताको अवस्था परिवर्तन गर्न बाँकी नै छ”, मन्त्री शर्माले भनिन्, “त्यसैले हामीले राजनीतिक व्यवस्था अनुकूल जनताको अवस्था परिवर्तन गर्न सुशासन, समृद्धि र सामाजिक न्यायको बाटोहुँदै समाजवादको आधार तयार पार्नुपर्छ भनिरहेका छौं ।”

सो क्रममा मन्त्री शर्माले शंखधर साख्वाःको योगदानलाई चिरस्थायी बनाउन भूमिका निर्वाह गर्ने राजनीतिक तथा नागरिक आन्दाेलनका अगुवा पद्यरत्न तुलाधरको सालिकमा माल्यार्पण गरेकी थिइन् ।



प्रतिक्रिया दिनुहोस !