२१ आश्विन २०८१, सोमबार

सरकारको काम र गुण नयाँ ढंगबाट अघि बढ्छ : प्रधानमन्त्री दाहाल

प्रकाशित मिति :  22 November, 2023 2:30 pm


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको कामको प्रकृति र गुण नयाँ ढंगबाट अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । बुधबार सिंहदरबारमा पश्चिमतर्फको (रेट्रोफिटिङ भएको) भागमा बनाइएको कार्यालयमा सरेसँगै उनले सरकारका कामकारबाही अब नयाँ ढंगबाट अघि बढाउने बताएका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मात्रै नसारिएको बताउँदै उनले कामको प्रकृति र गुण पनि अब नयाँ ढंगले जाने संकल्प पनि रहेको महसुस गरेको बताए ।

“हामी प्रधानमन्त्रीको कार्यालय सिंहदरबारकै पछिल्लो भागबाट अघिल्लो भागमा सरेका छौँ । यो ठाउँ मात्रै सारिएको होइन, कामको प्रकृति र गुणपनि अब नयाँ ढंगले जाने संकल्प पनि यसभित्र रहेको महसुस गरेको छु । १२० वर्ष पुरानो यो भवनलाई त्यसको मूल संरचना जस्ताको त्यस्तै राखेर अहिले भूकम्पबाट जुन क्षति भएको थियो, त्यसको पुनःनिर्माण भएको छ,” प्रधानमन्त्री दाहालले भने ।

त्यस्तै सञ्चारकर्मीहरूसँग कुरा गर्दै सहरी विकासमन्त्री सीता गुरुङले नयाँ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रवलीकरण गर्ने काम लगभग पूरा भएको बताइन् ।

उनले पहिलो चरणको आयोजनाको ठेक्काअनुसार ४२ करोड हाराहारीको रकममा प्रबलीकरण गर्ने काम सम्पन्न भएको बताइन् । ०७२ सालमा गएको भूकम्पबाट क्षति भएको संरचनालाई रेट्रोफिटिङ गरेर अहिले प्रधानमन्त्री सोही कार्यालयमा सरेका हुन् ।



प्रतिक्रिया दिनुहोस !