२१ आश्विन २०८१, सोमबार

प्रतिगामीहरू अन्तिम छटपटीमा छन्, उनीहरूको सपना कहिल्यै पूरा हुँदैन : प्रधानमन्त्री

प्रकाशित मिति :  22 November, 2023 4:53 pm


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्र उल्टाउन चाहने प्रतिगामीहरूको सपना कहिल्यै पूरा नहुने बताएका छन् ।

नेपाल सरकारको मन्त्रिपरिषदले सरकारी लिखतहरूमा नेपाल संव्त समेत उल्लेख गर्ने निर्णयको स्वागतमा प्रधानमन्त्रीलाई सम्मान गर्ने कार्यक्रममा आफ्नो मन्तव्य राख्दै उनले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्रीले भने, ‘‘आजको परिवर्तन साना दुखले आएको होइन। यो व्यवस्थाका निम्ति हजारौंले रगत बगाएका छन्, हजारौंले जेलनेल भोगेका छन्। लाखौं जनताले संघर्ष गरेका छन्। यो व्यवस्था कसैले उल्टाउन खोज्छ भने त्यो सपना मात्रै हो, तिनीहरूको सपना कहिल्यै पूरा हुँदैन।”

प्रधानमन्त्रीले नेपाल संवत् नेपालको मौलिक संवत् भएको बताए । उनले भने, ‘‘हामीले विक्रम संवत् प्रयोग गरिरहेका छौं। कतिपय सन्दर्भमा अंग्रेजी संवत् पनि लेखिन्छ। तर, नेपाल संवत् नेपालको आफ्नै मौलिक संवत् हो। यसलाई राष्ट्रिय संवत्को रूपमा विकसित तुल्याउनुपर्दछ।’’



प्रतिक्रिया दिनुहोस !