२१ आश्विन २०८१, सोमबार

स्याङ्जामा सबैभन्दा बढी कर तिर्ने खिलुङ कालिका कन्सट्रक्सन सम्मानित

प्रकाशित मिति :  23 November, 2023 2:02 pm


काठमाडौँ । स्याङ्जा जिल्लामा विविध कर चेतनामूलक कार्यक्रम गरी १२ औं राष्ट्रिय कर दिवस एवं कर सप्ताह मनाइएको छ। ‘स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र सुशासन’ भन्ने मूल नारा सहित कार्यक्रम गरिएको हो ।

जिल्ला समन्वय समिति स्याङ्जाको सभाहलमा आयोजित कर सप्ताह विशेष समारोहमा बोल्दै करदाता सेवा कार्यालय, पुतलीबजारका प्रमुख विजय भुसालले करदाताको कर सम्बन्धी समस्याको समाधानमा करदाता सेवा कार्यालय प्रतिबद्ध रहेको बताए।

अधिकृत भुसालले कर सम्बन्धि समस्या भएमा कार्यालयमा सम्पर्क गर्न तर मध्यस्तकर्ताको पछि नलाग्न सुझाव दिएका थिए। बजार अनुगमनलाई नियमित र प्रभावकारी बनाइने जानकारी दिदै अधिकृत भुसालले उद्योगी, व्यवसायी र उनीहरूको छाता संगठनहरूसँग सहकार्य गरी कर शिक्षाको दायरा र प्रभावकारिता बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

कर सप्ताह समारोहमा उत्कृष्ट करदाताको सम्मान खिलुङ कालिका कन्सट्रक्सन प्रा.लि.लाई प्रदान गरिएको थियो। प्रा.लि. को तर्फबाट संचालक एवं व्यवस्थापक दिपक अर्यालले सम्मान ग्रहण गरेका थिए।

सम्मानित भएका अर्यालले उत्कृष्ट करदाता बन्न सहयोग गर्ने सबैलाई धन्यावाद र खुशी व्यक्त गर्दै कर शिक्षाको दायरा र प्रभावकारितालाई वृद्धि गर्नुपर्ने सुझाव दिएका थिए।

कर सप्ताह विशेष समारोहमा उत्कृष्ट कर्मचारीको सम्मान डाटा इन्ट्री सुपरभाइजर सुवासचन्द्र मरासिनीलाई प्रदान गरिएको थियो।कर सप्ताहको अवसरमा कर दाता सेवा कार्यालय पुतलीबजारले वक्तृत्वकला प्रतियोगिता, कर चेतनामूलक भिडियो प्रतियोगिता , कर शिक्षा कार्यक्रम , उद्योगी र व्यवसायीबिच अन्तरक्रिया , उत्कृष्ट करदातालाई सम्मान गरेको छ।



प्रतिक्रिया दिनुहोस !