२२ आश्विन २०८१, मंगलबार

सरकारप्रतिको आक्रोशलाई व्यवस्था विरोधी अभियानमा संगठित गर्न खोजियोः महेश बर्तौला

प्रकाशित मिति :  29 November, 2023 2:02 pm


काठमाडौँ । नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले सरकारप्रतिको निराशा र आक्रोशलाई व्यवस्था बिरोधी अभियानमा संगठित गर्न खोजिएको बताएका छन् ।

सचेतक बर्तौलाले सरकार विकास, समृद्धि, सुशासन र सामाजिक न्यायको पथमा हिँड्न नसक्दा नागरिकहरूमा निराशा र आक्रोश बढेको बताएका हुन् । जनतामा सरकारप्रति निराशा र आक्रोश भएको भन्दै उनले सोही निराशा र आक्रोशलाई वर्तमान राजनीतिक प्रणालीको बिरुद्धमा प्रयोग गर्न खोजिएको बताए ।

उनले आक्रोशित जनसमुदायलाई व्यवस्था बिरोधी बनाउन र शासकिय प्रवन्धहरूलाई कमजोर बनाउन संगठित गर्न खोजिएको भन्दै त्यो कुरा दिवा सपना मात्रै हुने बताए । उनले व्यवस्था र संविधानका बिरुद्धमा हुने गतिविधिहरूलाई निस्तेज पारिने पनि बताए ।

उनले भने, “सरकारले ठिक ढंगले डेलिभरी दिन नसक्दा, विकास, समृद्धि, सुशासन र सामाजिक न्यायको पथमा सरकार स्वयं हिँड्न नसक्दा नागरिकहरुमा एक प्रकारको निराशा भयो । चरम महंगि छ । भ्रष्टाचार छ । तस्करी, कालोबजारी छ । त्यो नियन्त्रणमा आएन । जनताले प्रत्यक्ष त्यसको मार खेप्नु परेको अवस्था छ । जनताको आक्रोश भयो सरकारप्रति । जनतामा ठुलो निराशा आयो देशमा केही हुँदैन कि भन्ने नैराश्यता जनताको तहमा छ र त्यसले आक्रोश बढायो । निराशा बढायो । निराशा र आक्रोश बढेको जनतामा केही धमिलो पानीमा माछा मार्न खोज्ने शक्तिहरुले सरकारको बिरुद्धमा आक्रोश हो ।”

उनले धमिलो पानीमा माछा मार्न खोज्ने शक्तिले आक्रोशित जनसमुदायलाई व्यवस्था विरोधी अभियान र व्यवस्था प्रणालीलाई आघात पार्न विद्यमान शासकिय प्रवन्धहरूलाई कमजोर बनाउन लागेकाे बताए ।

व्यवस्था बिरोधी स्वरहरू सुनिन थाल्दा पनि सरकारले कुनै प्रतिक्रिया नदिएको उनको भनाइ छ । उनले वर्तमान राजनीतिक व्यवस्था नढल्ने भएपनि नेतृत्वले कार्यशैलीमा भने परिवर्तन गर्नु आवश्यक रहेको बताए ।

त्यसैगरी, नेकपा (माओवादी केन्द्र) का राष्ट्रिय सभा सदस्य राधेश्याम पासवानले राजतन्त्र केवल कल्पना मात्रै भएको टिप्पणी गरे ।



प्रतिक्रिया दिनुहोस !