२२ आश्विन २०८१, मंगलबार

मनमोहन मेमोरियल अस्पतालले फोहर व्यवस्थापनका लागि इन्सिनरेटर प्रविधि भित्र्यायो

प्रकाशित मिति :  2 December, 2023 3:21 pm


काठमाडौँ । झापाको बिर्तामोडस्थित मनमोहन मेमोरियल सामुदायिक अस्पतालले फोहर व्यवस्थापनका लागि नयाँ प्रविधि भित्र्याएको छ।

अस्पतालले भारतका विभिन्न ठाउँमा प्रयोग गरिएको प्रविधि इन्सिनरेटर भित्र्याएको हो। सोही इन्सिनरेटरबाट मनमोहन अस्पतालले फोहर व्यवस्थापन गर्न थालेको छ। बिर्तामोड–२ मा अस्पतालले आफ्नो जमिनमा संरचना बनाई फोहर डढाउन शुरु गरेको हो।

इन्धन र विद्युत्‌बिना सञ्चालन हुने इन्सिनरेटरबाट प्रतिघण्टामा एक क्विन्टल फोहर व्यवस्थापन गर्न सकिने बताइएको छ। पूर्वाधारसहित २० लाख रुपैयाँ लागतमा अस्पतालजन्य फोहर व्यवस्थापन गर्न नयाँ प्रविधि भित्र्याइएको अस्पतालका कार्यकारी प्रमुख रोमनी भट्टराईले बताए। फलाम र सिसा बाहेक अस्पतालबाट उत्पादित फोहर नष्ट गरिने भट्टराईले बताए।

उपकरण उत्पादक कम्पनीका अनुसार इन्सिनरेटर सञ्चालन गर्दा इन्धन चाहिँदैन। बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईंले उद्घाटन गरिन्। नगरप्रमुख प्रसाईंले जडान गरिएको इन्सिनरेटरको प्रभावकारिता अध्ययन गरेर पालिकाहरूले पनि जडान गर्ने बताइन्।​

इन्सिनरेटरले अक्सिजनको सहायताबाट फोहर जलाउने र सेतो धुँवा बाहिर फाल्नेछ। जलेको फोहरबाट उक्त प्रविधिले धुँवा प्रशोधन गरेर प्रदूषण नहुने धुँवा मात्रै बाहिर निकाल्ने र अन्य प्रदूषणजन्य धुँवालाई पानीमा परिणत गरेर पाइपमार्फत बाहिर निकाल्नेछ।



प्रतिक्रिया दिनुहोस !