२२ आश्विन २०८१, मंगलबार

फोहोरको गन्धले कृषि उत्पादनमा ह्रास, बस्ती स्थानान्तरण गर्न माग

प्रकाशित मिति :  3 December, 2023 2:15 pm


काठमाडौँ २०६२ सालमा नुवाकोटको सिसडोल र ओखरपौवाका स्थानीयहरूले बञ्चरेडाँडा र सिसडोल क्षेत्रमा लड्डु खाएर फोहोर विसर्जन गर्न सहमति दिएका थिए ।

१८ वर्ष पहिला एक घर, एक रोजगार, सडक पिच हुने, जागिर पाइने र गाउँमा नै ठूलो अस्पताल बन्ने आशामा पूजा गर्दै फोहोर फाल्न दिने सहमति दिएका स्थानीयहरू अहिले फोहोरमा पिल्सिएर बस्न बाध्य भएका छन् ।

फोहोरले घेरिएको ककनी गाउँपालिका वडा नम्बर १, सिसडोल, ओखरपौवा र वडा नम्बर ३ चाउथे क्षेत्रका मानिसहरूमा स्वास्थ्य समस्यादेखि खेतबारीमा अनाज उब्जनी समेत हुन छाडेको छ । उक्त क्षेत्रमा रहेको खेतबारी फोहोरले पुरेको र बाँकी रहेको खेतबारीममा अनाज उब्जनी हुन छाडेको स्थानीयहरूको गुनासो छ ।

सरकारले फाहोर विसर्जन गर्न सहमति दिँदा गरेको प्रतिबद्धता फाहोरमा मोहोर बनाउने आशा निराशामा परिणत भएको छ । फोहोरको दुर्गन्धको कारण माटोमा अन्न र फलफूल पनि फल्न छोडेको स्थानीय किसानहरूको गुनासो छ । उनीहरूले अन्न उम्रे पनि फल लागेपछि पात र फललाई किराले खाने जस्ता समस्या किसानहरूले भोग्नुपरेको बताए ।

किसानहरूले फोहोरबाट निस्केको लिच्चड खोलामा मिसिँदा खेतबारीमा उब्जनी हुन छाडेको गुनासो गरे । उत्पादन भएको फलफूल तरकारी समेत फोहोरमा उत्पादन भएको भनेर कसैले किन्न नमान्ने गरेको गुनासो कृषकहरूको छ । यस क्षेत्रका किसानहरू लगाएको अन्नबाली र फलफूलहरूमा किरा र डढुवा लाग्ने गरेको बताउँछन् ।

स्थानीय किसान कृष्णहरी ढुंगानाले बञ्चरेडाँडामा फालेको फोहोरको दुर्गन्धले कृषि उत्पादनमा ह्रास आउन थालेको गुनासो गरे । उनले फोहोरको दुर्गन्धले किसानहरूले उत्पादन गरेको कृषिबाली र फलफूलहरूमा किरा लाग्ने गरेको उल्लेख गरे ।

किसानहरूले लगाएको आलु, काउली, गोलभेडा र साग जस्ता तरकारी बालीहरूमा किराहरू लागेर बाली नष्ट गर्ने गरेको बताए । दुर्गन्ध थपिएपछि बस्ती स्थानान्तरणको माग गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !