२२ आश्विन २०८१, मंगलबार

काठमाडौँ वरपरका जिल्लाको समय आएको छः अर्थमन्त्री डा.महत

प्रकाशित मिति :  3 December, 2023 4:46 pm


काठमाडाैँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले अब काठमाडौं वरिपरीका जिल्लाको समय आएको बताएका छन् । शनिबार पन्चकन्या गाउँपालिका स्थित कविलास स्वास्थ्य चौकीको उद्घाटन गर्दै मन्त्री डा. महतले भने, ‘काठमाडौँ बजार हो, नजिक छ, त्यहाँ खर्च गर्ने ठूलो जनसंख्या पनि छ ।’

‘राजधानी काठमाडौँसँग जोडिएको नुवाकोट पछाडि परेको जिल्ला हो । नजिक भएर पछाडि परेको हो, टाढाका जिल्लाले आफूलाई तयार गर्नुपर्छ भनेर शिक्षाको चाँडै विकास भयो’, उनले भने, ‘त्यहाँका अगुवाहरूले शिक्षामा लगानी गरे । पढ्ने लेख्ने कामलाई प्राथमिकता दिए । तर काठमाडौँ वरिपरीकाको आम्दानीको मूल श्रोत जग्गाजमिन थियो ।’

उनले भने, “काठमाडौँमा राणाहरूको जो नजिक थिए, राणालाई रिझाएका थिए, ती व्यक्तिहरूले चाकरी गरेवापत पुरस्कारका रूपमा जमिन माग्थे । उब्जनी सहजै काठमाडौँ पुर्याउन सक्ने ठाउँको जमिन उनीहरू माग्थे । काठमाडौँसँग जोडिएको उब्जाउ जमिन नुवाकोट हो । काठमाडौँ बसेर नुवाकोटको जमिन उपभोग गर्नेहरू धेरै भए ।”

“काभ्रे, धादिङ र नुवाकोटका जनता प्रशस्त उब्जानी गर्ने र ठूलो हिस्सा काठमाडौँ पुर्याउने काममा केन्द्रित रहे । शिक्षाको विकास विशेषतः ०४६ पछि मात्र गति लिएको हाे” मन्त्री डा.महतले भने, “काठमाडौँकाे नजिक र शासकको नजरमा परेर हिजो नुवाकोटका जनता रैती बनेका थिए ।”

मन्त्री डा.महतले भने,”अब काठमाडौँबाट नुवाकोटलाई अझ नजिक बनाउनुपर्छ । काठमाडौँ–छहरे सुरुङ मार्गको काम हामीले गरिरहेका छौं । एक अर्ब बजेट पनि राखेका छौं, सुरुङमार्ग जटिल काम हो । यसका लागि तयारी सबैभन्दा महत्वपूर्ण हुन्छ, तयारी सकिएपछि मात्र काम अघि बढ्छ । तर तयारीको काम देखिँदैन ।’

“यहाँकै प्रकाश महत अर्थमन्त्री हुनुभयो, बजेट पनि राख्नुभयो, सुरुङ खन्न थालेको खोइन भन्ने तपाईंहरुलाई लाग्न सक्छ । साबेल र डोजर लगेर प्वाल पार्न मिल्दैन,” उनले भने, “त्यसका लागि भौर्गविक अध्ययन चाहिन्छ । यसका लागि हामीले चिनियाँ सरकारसँग अनुरोध गरेका छौं । उहाँहरुले प्राथम्भिक अध्ययन गर्न गर्नुहुनेछ । उहाँहरुले सम्भावित दुई तीनवटा विकल्प दिनुहुनेछ ।”

अर्थमन्त्री डा। महतले अध्ययन सम्पन्न भएपछि काठमाडौं–छहरे सुरुङमार्ग निर्माण प्रकृया अघि बढ्ने बताए ।



प्रतिक्रिया दिनुहोस !