२२ आश्विन २०८१, मंगलबार

देशको रूपान्तरण माओवादी नेतृत्वबाट मात्रै सम्भव छ :मन्त्री शर्मा

प्रकाशित मिति :  4 December, 2023 4:27 pm


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेकपा माओवादी केन्द्रका स्थायी समिति रेखा शर्माले देशको रुपान्तरण माओवादी नेतृत्वबाट मात्रै सम्भव भएको बताएकी छन् ।

नेकपा माओवादी केन्द्र प्युठानको सरुमारानी गाउँपालिका वडा नम्बर २ मा आयोजित विशेष रूपान्तरण अभियानअन्तर्गत आयोजित सभालाई सम्बोधन गर्दै उहाँले देशको समृद्धि र जनताको जीवन परिवर्तन गर्ने महान अभियानबाट आएको पार्टी भएकाले माओवादी नेतृत्वबाटै देशको रुपान्तरण सम्भव हुने बताएकी हुन् ।

देशको विकास निर्माण र समृद्धिका लागि माओवादी पार्टी जति अरु कसैले गर्न नसक्ने उल्लेख गर्दै उहाँले माओवादीले जितेका सबै तहका सरकारले नमूना काम गरिरहेको बताइन् ।

माओवादी नेतृत्वको सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायलाई मार्गदर्शनको रुपमा लिएको उल्लेख गर्दै मन्त्री शर्माले त्यसको प्रतिफल प्राप्त हुन थालेको पनि बताइन् । विद्यार्थीको हातमा समयमै पाठ्यपुस्तक पुग्नु, मल आपूर्ति सहज बन्दै जानु, सेवा प्रवाहका कार्यालयहरुमा लाइनमुक्त बन्दै जानुले सेवा प्रवाहको क्षेत्रमा आशा जगाएको उल्लेख गर्दै मन्त्री शर्माले नक्कली भूटानी शरणार्थी, सुनकाण्ड जस्ता ठूला भ्रस्टाचारका घटनामा सरकारले लिएको अडानले सुशासनको क्षेत्रमा नयाँ सन्देश दिएको स्पष्ट पारिन् ।

सामाजिक न्याय सरकारले समातेको महत्त्वपूर्ण बाटो भएको उल्लेख गदै उनले यो समाजमा पुग्ने पार्टीको योजनासित जोदिएको बताइन् । जनयुद्धको बेलामा पनि तोड्न नसकिएको मिटरब्याजको जालो तोड्नेदेखि सामन्तवादका बाकी अवशेष समाप्त पार्ने सवालमा सरकारले महत्त्वपूर्ण पाइला चालेको स्पष्ट गर्दै मन्त्री शर्माले यसलाई पार्टीले जनतासम्म पुर्याउनुपर्ने बताइन् ।

सबै छरिएका माओवादी एक भएर जनतालाई गोलबन्द गर्नुपर्नेमा उनले जोड दिइन् । २०६४ सालमा माओवादीलाई पहिलो शक्ति बनाए पनि त्यसपछि जनताले माओवादीको फूट र विभाजन मन नपराएको उल्लेख गर्दै उनले परिवर्तनकारी शक्तिबिचको एकता अनिवार्य भएको बताएकी थिइन्।

माओवादीसित जनता एजेन्डाका कारण नभइ माओवादीकै नेता कार्यकर्ताको शैलीका कारण रिसाएको पनि उनले स्पष्ट पारिन् । माओवादीले अघि सारेको गणतन्त्र, सङ्घीयता, समावेशिताजस्ता एजेन्डामा देश चलिरहेको भए पनि निर्वाचनमा अपेक्षित मत प्राप्त नहुनुको कारण खोजी गर्नुपर्ने उल्लेख गर्दै शर्माले राजनीतिलाई पेशा होइन, सेवाको रूपमा स्थापित गर्नुपर्ने बताइन् ।



प्रतिक्रिया दिनुहोस !