२२ आश्विन २०८१, मंगलबार

भूकम्प प्रभावित क्षेत्रमा पुनःनिर्माणका लागि क्षेत्र छुट्याइदिन रेडक्रसको माग

प्रकाशित मिति :  4 December, 2023 5:38 pm


काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीले पश्चिम नेपालको भूकम्प प्रभावित क्षेत्रमा पुनःनिर्माणका लागि क्षेत्र छुट्याइदिन माग गरेको छ ।

सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गरी रेडक्रसले भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुममा क्षेत्र छुट्याइदिएर पुनः निर्माण गर्न दिए आफूहरूलाई सहज हुने बताएको हो । आफूहरूलाई प्रभावित क्षेत्र छुट्याइ काम गर्न दिए कामको उपलब्धि देखाउन सकिने र काम पनि राम्रो हुने उनीहरूको भनाइ छ ।

पत्रकार सम्मेलनमा बोल्दै सोसाइटीका अध्यक्ष प्राध्यापक सुदर्शनप्रसाद नेपालले केही दिनअघि आफूहरूले भूकम्प प्रभावित क्षेत्रको भ्रमण गरेको र सो क्रममा विकराल स्थिति पाएको बताए ।

उनले भौतिक संरचनाहरू बाहिरबाट राम्रो देखिएपनि भित्र बस्न मिल्ने अवस्थामा नरहेको बताए । उनले भ्रमणका क्रममा रेडक्रसले कम्बलहरू म्याट्रेस, त्रिपाल पीडित बासिन्दालाई प्रदान गरेको बताए । भूकम्पपीडतलाई रकम वितरण, घर निर्माण गर्नेदेखि सबै उपलब्ध गराउनुपर्ने आवश्यकता रहेको बताउँदै सबैको सहयोग र समन्वयमा पीडितलाई छिटो राहत दिनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।

अध्यक्ष नेपालले सरकार र संघसंस्थाले दिने सुविधाबाट पीडित नागरिक वञ्चित हुन दिनु नहुने बताए ।



प्रतिक्रिया दिनुहोस !