२२ आश्विन २०८१, मंगलबार

भीरकोटमा तीन दिने निशुल्क आँखा शिविर सम्पन्न, चार सय बढीले लिए सेवा

प्रकाशित मिति :  4 December, 2023 5:57 pm


काठमाडौँ । स्याङ्जाको भीरकोट नगरपालिकामा विद्यार्थीहरूका लागि संचालित तीन दिने आँखा शिविर सम्पन्न भएको छ।

लायन्स क्लब अफ भीरकोटले “विद्यार्थीसँग लायन्स कार्यक्रम” अन्तर्गत मंसिर १६ गतेदेखि (आज)१८ गतेसम्म संचालन गरेको तीन दिने निशुल्क आँखा शिविरबाट ४ सय ६७ जना बालबालिका लाभान्वित भएकाे लायन्स क्लब अफ भीरकोटका अध्यक्ष याम प्रसाद अधिकारीले जानकारी दिए ।

अध्यक्ष अधिकारीले नगरपालिकाको बालमैत्री अभियानमा सहयोग पुगोस् भन्ने हेतुले निशुल्क आँखा जाँच शिविर आयोजना गरेकाे बताए । उनले भने, “पछिल्लो समय बालबालिकाले समार्टफोनको धेरै प्रयोग गर्दा उनीहरूकाे आँखा कमजोर हुदैँ गएकाले यस्ताे शिविर संचालन गरेकाे हाैँ ।” त्यस्तै लायन्स क्लब अफ भीरकोटको वार्षिक कार्ययोजना र अभिभावकहरूको माग अनुसार बालबालिका र विद्यार्थीहरूलाई लक्षित कार्यक्रम गरेकाे अध्यक्ष अधिकारीले बताए ।

आँखा शिविरको समापन गर्दै नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले लायन्स क्लब अफ भीरकोटले आँखा जस्तो संवेदनशील विषयमा शिविर संचालन गरेकोमा आभार व्यक्त गर्दै आयोजक र सहयोगी निकायहरूको प्रशंशा गरेका थिए ।

लायन्स क्लब अफ भीरकोटको आयोजना एवम् भीरकोट नगरपालिका र गण्डकी मेडिकल कलेज पोखराको समेत सहयोगमा सुरू भएको निशुल्क आँखा शिविरमा विशेषतस् विद्यार्थीहरूको आँखाको दृष्टि परीक्षण र निशुल्क औषधि वितरण गरिएको थियो। शिविरमा तीन दिनसम्म आँखा रोग विशेषज्ञ डा.लक्ष्मी ओली, डा.शुभेच्छा दाहाल र डा.सुरमाया अधिकारीले सेवा दिएका थिए।

भीरकोट नगरपालिका वडा नम्बर १ मा अवस्थित भीरकोट खेलमैदानमा निशुल्क आँखा जाँच शिविर आयोजना गरिएको थियो।



प्रतिक्रिया दिनुहोस !