२२ आश्विन २०८१, मंगलबार

पक्राउ पुर्जीपछि नेकपाद्वारा विरोधका कार्यक्रम : देशव्यापी प्रर्दश र न्यायाधीसको पुत्ला जलाउने

प्रकाशित मिति :  5 December, 2023 11:31 am


काठमाडौँ । काठमाडाैँ जिल्ला अदालतले महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘ प्रकाण्ड’ लगायतका नेता विरुद्ध पक्राउ पुर्जी जारी गरेपछि नेपाल कम्युनिस्ट पार्टीले विरोधका कार्यक्रम घोषणा गरेको छ ।

नेकपाले २०७६ साल पुसको मुद्दा व्यूताएर २०८० मङ्सिर १८ गते महासचिव विप्लव, प्रवक्ता कमरेड प्रकाण्ड, पोलिटव्युरो सदस्य माइला लगायतका नाममा पक्राउ पुर्जी जारी गरेको भन्दै विरोधका कार्यक्रम सार्वजनिक गरेको हो ।

नेकपाले मङ्सिर १९ सांझ ५.३० बजे मशाल जुलुस, मङ्सिर २० गते दिनको ३ बजे न्यायाधीशको पुत्ला दहन र मङ्सिर २१ गते २ बजे देशव्यापी जनप्रदर्शन गर्ने निर्णय गरेको छ ।

नेकपाले विज्ञप्ति जारी गर्दै भनेको छ,“अदालतको उक्त कार्य २०७७ साल फागुन २१ गते सम्पन्न ३ बुँदे सहमतिको ठाडो उल्लङघन मात्र हैन देशका समस्यालाई शान्तिपूर्ण तरिकाले निकास दिन भइरहेका गम्भीर पहल माथिको विध्वंसात्मक हमला पनि हो ।”

राज्यको जिम्मेवार निकाय अदालतमा बसेका न्यायाधीसले गैरकानूनी, असभ्य एवं अराजक कार्य गरेको नेकपाले टिप्पणी गरेको छ ।

महासचिव विप्लवले जारी गरेको विज्ञप्तिमा राज्यसँग गरिएको ३ बुँदे सहमति मध्य एउटा बुँदा पार्टी नेता कार्यकर्ता माथि लगाइएका मुद्दा फिर्ता लिने र बन्दी कमरेडहरुलाई मुक्त गर्ने रहेको समेत स्मरण गराइएको छ ।

विज्ञप्तिमा भनिएको छ,“राज्यका सहमतिलाई कानूनको अंग बनाएर समस्याहरूलाई समाधान गर्न मद्दत गर्नु पर्ने मुख्य अङ्ग अदालतले नै गैर कानूनी कदम चाल्नु भनेको देशमा शान्ति भाड्न अदालत र न्यायाधीस नै सक्रिय बनेको त होइन भन्ने आशंका पैदा भएको छ ।”

अदालतले गैरजिम्मेवार कार्य गरेको भन्दै नेकपाले सरकार, राजनैतिक दलहरु, बुद्धिजीवी, मानधिकारवादी, युवा विद्यार्थी, श्रमिक जनताको ध्यान पुगोस भनेको छ ।

नेकपाले विज्ञप्तिमा भनेको छ, “३ बुँदे सहमतिलाई यथासिघ्र लागू गर्न, मुद्दाहरू खारेज गर्न र वन्दी कमरेडहरू मुक्त गर्न सरकार गम्भीर बनोस भन्ने आग्रह गर्दछौँ । त्यसैगरी यस्तो गैरकानूनी, अराजक, विध्वंसात्मक कार्यको प्रतिरोधमा उत्रिन पार्टी पंक्ति एवं न्यायप्रेमी जनतालाई अपिल गर्दछौँ ।“



प्रतिक्रिया दिनुहोस !