२२ आश्विन २०८१, मंगलबार

महिला स्वयंसेविकाहरूले पाउने सुविधामा सरकारले शोषण गरेको आरोप

प्रकाशित मिति :  5 December, 2023 4:54 pm


काठमाडौँ । महिला स्वयंसेविकाहरूले सेवा निवृत्त हुँदा पाउने सुविधामा सरकारले शोषण गरेको आरोप लगाएका छन् ।

२० औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा मंगलवार काठमाडौँमा आयोजित कार्यक्रममा उनीरूले यस्तो गुनासो गरेका हुन् । कार्यक्रममा बोल्दै स्वयंसेविका संघकी अध्यक्ष गीता थिङले २० वर्ष अघि दिएको सेवा निवृत्त सुविधा बढाउनुपर्ने माग गरिन् ।

उनले आजसम्म पनि महिला स्वयंसेविकाहरूलाई २० वर्षअघिकै २० हजार रुपैयाँ दिने गरेको भन्दै असन्तुष्टि जनाइन् । उनले सरकारले महिला स्वयंसेविकाहरुलाई सेवा निवृत्त सुविधाका रुपमा २० हजार रुपैयाँ मात्रै दिनु शोषण भएको बताइन् ।

उनले भनिन्,”प्रमाणपत्र दिने र मनाउने मात्रै ठूलो कुरा होइन । जो स्वयंसेविकाहरु काममा लागिरहनुभएको छ, उहाँहरु दूरदराजमान पनि धेरै हुनुहुन्छ । उहाँहरुलाई केही न केही सेवा सुविधा दिनुपर्छ । बिदाईमा २० हजार दिने गरेको छ । यो त २० वर्ष अघि दिएको हो । आजसम्म पनि त्यही २० दिनेकुरा मान्य हुँदैन । हामीलाई लिए पनि लि नलिए नलि भन्ने खालको अवस्था छ । यस्तोमा स्वयंसेविकाहरुको मनोबल घट्छ । ६० वर्षको उमेरमा बिदाई गर्नु ठिक छ । यो अति नै शोषण हो, लाजमर्दो कुरा हो ।”

कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव दीपेन्द्ररमण सिंहले महिला स्वयंसेविकाहरुको कामले सरकारलाई थप शक्ति मिल्ने गरेको बताए । उनले महिला स्वयंसेविकाहरुको लागि आवश्यक पर्ने काम गर्न मन्त्रालय तयार रहेको बताए ।

यसैगरी सरुवा रोग विशेषज्ञ डा। अनुप बास्तोलाले महिला स्वयंसेविकाहरुले उठाएको माग जायज रहेकाले सरकारले सम्बोधन गर्नुपर्ने बताए । उनले महिला स्वयंसेविकाहरुलाई विभिन्न तालिम दिइ प्रभावकारी बनाएर थप सशक्त बनाउनुपर्नेमा जोड दिए ।



प्रतिक्रिया दिनुहोस !