२२ आश्विन २०८१, मंगलबार

खुला प्रतिष्पर्धाका आधारमा ग्राउण्ड ह्याण्डलिङ दिने प्राधिकरणको निर्णयको विरुद्ध निगम कर्मचारी आन्दोलित

प्रकाशित मिति :  6 December, 2023 2:06 pm


काठमाडाैँ । नेपाल वायुसेवा निगमका कर्मचारीले खुला प्रतिष्पर्धाका आधारमा ग्राउण्ड ह्याण्डलिङ दिने निर्णयको विरोधमा आन्दोलन सुरू गरेका छन् ।

बुधवारदेखि निगमका कर्मचारी तथा संयुक्त ट्रेड युनियनहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ खुला प्रतिष्पर्धाका आधारमा नभएर स्वतः नियमले पाउनुपर्ने माग राख्दै आन्दोलन सुरु गरेका हुन्।

नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ खुला प्रतिष्पर्धाबाट दिने निर्णय गरेसँगै ग्राउण्ड ह्याण्डलिङ खुला वायुसेवा निगमले नै पाउनुपर्ने माग राखेका हुन्।

झन्डै वार्षिक ४ अर्ब रुपैयाँ आम्दानी हुँदै आएको ग्राउण्ड ह्याण्डलिङ सेवा निगमले पाउनुपर्ने भन्दै निगमका कर्मचारीले विरोध गरेका हुन्। उनीहरुले प्राधिकरणबाट अडिटका लागि आउने प्राविधिकलाई रोक्ने बताएका छन्।

युरोपेली युनियन (इयु) ले दिएको प्रतिवेदनका आधारमा प्राधिकरणले बुधवारदेखि तीन दिन विस्तृत अडिट गर्ने तयारी गरेको भन्दै निगमका कर्मचारीहरूले प्राधिकरणका अडिट गर्न आउने कर्मचारीलाई निगममा छिर्न नदिने तयारी गरेको बताएका छन्।

नेपाल राष्ट्रिय कर्मचारी संगठनका उपाध्यक्ष तथा निगमका वरिष्ठ अधिकृत रमेशकुमार पाण्डेले प्राधिकरणले युरोपेली युनियन (ईयु) ले दिएको प्रतिवेदनका आधारमा नेपाल वायुसेवा निगमको कारण कालोसूचिबाट नहटेको आरोप लगाउँदै ग्राउण्ड ह्याण्डलिङ निगमबाट खोस्ने उद्देश्यले प्राधिकरणका डिजीले गरेको निर्णय बिरुद्ध आन्दोलन सुरुवात गरिएको जानकारी दिए।

हवाई माफियाहरूको निर्देशनअनुसार नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकले नेपाल वायुसेवा निगमले अहिलेसम्म गर्दै आएको ग्राउण्ड ह्याण्डलिङ सेवा खोस्न खोजिएको ‍उनको आरोप छ।

कर्मचारीहरूले ग्राउण्ड ह्याण्डलिङ खोस्ने निर्णयबिरुद्ध चरणवद्ध रुपमा आन्दोलन गर्ने बताएका छन्। उनीहरूले निगम र निगमका कर्मचारीहरूको हितको लागि भएपनि प्राधिकरणले ग्राउण्ड ह्याण्डलिङ निगमनलाई नै दिनुपर्ने बताएका छन्।

कर्मचारीहरूले ग्राउण्ड ह्याण्डलिङ निगमबाट खोस्ने प्राधिकरणको राष्ट्रघाती निर्णय खारेज गर, निगम मास्ने निर्णय फिर्ता गर,नागरिक उड्डन प्राधिकरणको दादागिरी बन्द गर, भ्रष्ट क्यानको डिजी राजीनामा दे लगायतका नारा समेत लगाएका छन् ।



प्रतिक्रिया दिनुहोस !