२३ आश्विन २०८१, बुधबार

पहिरो रोक्न नेपालमा ड्रोनबाट वनस्पतिको बीउ छर्ने प्रविधि प्रभावकारी हुँदै

प्रकाशित मिति :  11 December, 2023 2:07 pm


काठमाडौँ । नेपालमा ड्रोनबाट विभिन्न वनस्पतिको बीउ छर्ने प्रविधि प्रभावकारी देखिएको छ । पातलो हुँदै गएको जंगलमा जडिबुटी जन्य वनस्पतिको बिस्तार एवं विकास र पहिरोको रोकथामको लागि ड्रोनबाट बीउ छर्ने विधि प्रभावकारी देखिएको हो ।

ओखलढुंगा र खोटाङमा गरिएको नमूना परीक्षणले राम्रो नतिजा दिएकाले देशको अन्य भागमा पनि यो विधि अपनाइएको छ । जलवायु परिवर्तनको असर कम गर्न र मासिँदै गएको जंगल पुनः प्राप्त गर्ने उद्देश्य साथ संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले ड्रोनबाट बीउ छर्ने प्रविधिमा विगत ३ वर्षदेखि नेपाल सरकारलाई सहयोग गर्दै आएको छ ।

यो विधि प्रभावकारी देखिएपछि यसम्बन्धी सामग्रीलाई विश्व जलवायु सम्मेलन कोप ९२८० मा नेपालको तर्फबाट प्रस्तुत गरिएको छ । संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमले नेपाल पेभिलिनमा प्रश्तुत गरेको ड्रोनबाट बीउ छर्ने प्रविधिमा अन्य मुलुकका प्रतिनिधिको पनि आकर्षण देखिएको थियो ।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम अन्तर्गत जलवायु उत्थानशील तथा जीविकोपार्जन कार्यक्रमका संयोजक प्रेम पौडेलले ड्रोनबाट बीउ छर्ने प्रविधिका कारण विगत ३ वर्षमा जंगल क्षेत्र बढाउन तथा सुख्खा क्षेत्रको व्यवस्थापन गर्दै हरियाली बनाउने कार्यमा सफलता मिलेको बताए । नदी, खोला किनारमा बहुतह खेती गर्न समेत यो विधि सफल भएको कार्यक्रम संयोजक पौडेलले बताए ।

जमिनको क्षयीकरण घटाउन तथा स्थानीयको जीविकोपार्जन सहज बनाउने उद्देश्य साथ नेपालका पहाडी क्षेत्रमा यो कार्यक्रम सञ्चालन गरिएको हो । वन तथा वातावरण मन्त्रालय, युएनडिपी र ग्लोवल इन्भाइरोमेण्ट फ्यासिलिटीले खोटाङ र ओखलढुंगामा यो कार्यक्रम सञ्चालन गरेको छ । नेपालमा वन फडानीको कारण पहिरो जाने र त्यसले तराईमा समेत बाढी र कटानको समस्या देखिने गरेको छ ।



प्रतिक्रिया दिनुहोस !