२३ आश्विन २०८१, बुधबार

जलवायु न्यायलाई बिर्सन हुँदैन : महासचिव गुटेरेस

प्रकाशित मिति :  11 December, 2023 3:31 pm


काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसले विश्व जलवायु सम्मेलनले जलवायु न्यायलाई बिर्सन नहुने बताएका छन् ।

संयुक्त अरब इमिरेट्सको दुबईमा जारी विश्व जलवायु सम्मेलन कोप–२८ सकिन दुई दिन मात्र बाँकी हुँदा सोमबार सम्मेलनस्थलमा पत्रकार सम्मेलन गर्दे उनले जलवायु न्यायलाई उच्च प्राथमिकतामा राखिनुपर्ने बताए ।

सम्मेलनले आफ्ना यसअघिका निर्णय कार्यान्वयनको समीक्षा र आगामी कार्यदिशा निर्धारण गर्दा जलवायु विज्ञान, विकासोन्मुख र अल्पविकसित मुलुकको आवश्यकताको विषयलाई ध्यान दिनुपर्ने बताए ।

गुटेरेसले भने, “जलवायुको विज्ञानसँग सम्झौता नगरिकन, विकासोन्मुख र अल्पविकसित देशहरूको आवश्यकतासँग सम्झौता नगरिकन हामी सबैले काम गर्नुपर्ने आवश्यकता छ ।”

उनले प्रत्येक देशले एनडीसीमार्फत गरेको जलवायु अनुकूलनको प्रतिवद्धतालाई समय सीमा तोकी इमान्दारितापूर्वक कार्यान्वयन गर्नुपर्नेमा पनि जोड दिए ।

हरित गृह ग्यासको उत्सर्जनलाई घटाउने, जैविक उर्जाको प्रयोगलाई समयसीमा तोकी घटाउने र जलवायु न्यायलाई मध्यनजर गर्दै प्रत्येक देशले योजना बनाई काम गर्नुपर्ने कुरामा जोड उनले जोड दिए ।

‘जैविक उर्जाको खपत हटाउने कार्यमा यो सम्मेलन सफल भएन भने के यसलाई हामी असफल भन्न मिल्छ रु’ भन्ने पत्रकारको जिज्ञासामा महासचिव गेटेरेसले जैविक उर्जा खपत एकै पटक हटाउन नसकिने टिप्पणी गरे ।

उनले भने, “एकैपटक सबैले बन्द गर्ने पनि होइन । यसलाई प्रत्येक देशले विस्तारै कम गर्दै लैजाने भन्ने हो । सीमा तोकेर कम गर्दै लग्यो भने लक्ष्य हासिल हुन्छ । तर सबैले एकैपटक बन्द गर भन्ने होइन । जैविक उर्जाको खपत कम गर्नु भनेको रोजगारी वृद्धि गर्नु पनि हो । यो समय भनेको सम्झौता गर्ने समय हो । यहाँ हामीले सबै विषयमा विजयको अपेक्षा राख्नुहुँदैन ।”

उनले सम्मेलनमा जैविक उर्जाको खपत हटाउने सम्बन्धमा स्पष्ट दुई ध्रुवमा बाँडिएका मुलुकहरुलाई सामूहिक रूपमा आफ्नो प्रतिवद्धताप्रति इमान्दार रही निर्णय गर्न सुझाव दिए ।



प्रतिक्रिया दिनुहोस !