२३ आश्विन २०८१, बुधबार

सरकार माघदेखि नयाँ बजेट निर्माणको काममा लाग्छ : मुख्यसचिव अर्याल

प्रकाशित मिति :  12 December, 2023 1:25 pm


काठमाडौँ । नेपाल सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्यालले सरकार आगामी माघदेखि नयाँ बजेटको तयारीमा लाग्ने बताएका छन् ।

मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आगामी माघदेखि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमसहितको बजेट निर्माणको कामलाई सरकारले अघि बढाउने बताएका हुन् ।

मुख्यसचिव अर्यालले बजेट, नीति तथा कार्यक्रम र सङ्घीयता कार्यान्वयनका लागि आवश्यक सुझाव सरकार दिन पनि सम्बन्धित क्षेत्रका विज्ञहरूलाई आग्रह गरे । उनले १६ औँ योजनाको दस्ताबेजलाई पूरा गर्ने कामलाई पनि सरकारले अघि बढाएको पनि बताए ।

‘‘माघदेखि हामी नयाँ बजेटको तयारीमा लाग्छौँ । सरकारको नयाँ नीति तथा कार्यक्रम आउँछ । र सरकारले अहिले तयार गर्दै गरेको १६ औँ योजनाको दस्ताबेजलाई पूरा गर्ने योजना पनि भएको छ ।,’’ उनले भने , ‘‘१६ औँ योजनाका लागि सुझावहरू दिने काम गरियो भने त्यसलाई राष्ट्रिय योजना आयोगले समेट्ने छ । हामीलाई नीति तथा कार्यक्रममा र अर्थ मन्त्रालयलाई बजेटमा र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सङ्घीयता कसरी कार्यान्वयन गर्न सकिन्छ भन्ने विषयमा सुझाव दिन सकिन्छ ।’’

अर्यालले सङ्घीयतासम्बन्धी कानुन निर्माणको काममा सरकार लागेपनि सोचेअनुसार काम हुन नसकेको स्वीकार गरे ।



प्रतिक्रिया दिनुहोस !