२३ आश्विन २०८१, बुधबार

स्याङ्जामा १ अर्ब १० कराेडकाे सुन्तला उत्पादन

प्रकाशित मिति :  14 December, 2023 11:15 am


नारायण प्रसाद काेइराला

काठमाडौँ । स्याङ्जा जिल्लामा यो वर्ष १९ हजार ८७ मेट्रिक टन सुन्तला उत्पादन भएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण सुन्तला सुपरजोन परियोजनाले गरेको बाली उत्पादकत्व निर्धारण तथा सुन्तला बाली कटानी सर्वेक्षणबाट सो नतिजा प्राप्त भएको कार्यालय प्रमुख माधव लम्सालले बताए ।

उनका अनुसार यस वर्ष प्रति हेक्टर उत्पादन १४.४६ मेट्रिक टन रहेको छ । किसानले बगैंचामा प्राप्त गर्ने औसत मूल्य प्रति केजी ५५ देखि ६० रुपैयाँको दरले हिसाब गर्दा यो वर्ष स्याङ्जामा करिब १ अर्ब १० करोड बराबरको सुन्तला उत्पादन भएको सुन्तला सुपरजोन परियोजना कार्यालय प्रमुख लम्सालले बताए ।

गत वर्ष वर्ष २२ हजार मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । आर्थिक वर्ष २०७९\०८० मा १ अर्ब ३८ करोडको सुन्तला उत्पादन भएकोमा यो वर्ष सुन्तलाको एक वर्ष बाक्लो र अर्को वर्ष पातलो फल्ने प्रवृत्ती, मौसमी प्रतिकुलता, कमजोर बगैंचा व्यवस्थापन लगायतका कारणले सुन्तला उत्पादनमा कमि आएको लम्सालले जानकारी दिए ।

स्याङ्जाको सुन्तला रसिलो र स्वादिलो हुने हुँदा पोखरा,बुटवल लगायतका ठाउँमा माग उच्च रहेको कृषक तथा व्यापारीहरूको अनुभव छ ।

लम्सालले उत्पादनमा कमी आएको भएपनि सुन्तलाको गुणस्तर राम्रो रहेको बताए । लम्सालका अनुसार १ हजार ३ सय २० हेक्टर क्षेत्रफलमा उत्पादनशील सुन्तला बगैंचा रहेको छ भने २ हजार २ सय हेक्टर क्षेत्रफलमा सुन्तला खेती भैरहेको छ । स्याङ्जा देशमै सबैभन्दा मिठो र बढी सुन्तला उत्पादन हुने जिल्ला हो । सुन्तलाको क्षेत्र विस्तार भैरहेको यो जिल्ला सुन्तलाका विरूवामा समेत आत्मनिर्भर छ ।

स्याङ्जाको पुतलीबजार नगरपालिकामा सबैभन्दा बढी ८५० हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको छ भने सबैभन्दा कम फेदिखोला गाउँपालिकामा ३५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको छ ।

यसैगरी भीरकोट नगरपालिकामा ३५० हेक्टर , अर्जुनचौपारी गाउँपालिकामा २७० हेक्टर, वालिङ नगरपालिकामा २४० हेक्टर, आँधिखोला गाउँपालिकामा १२५ हेक्टर, गल्याङ नगरपालिकामा १३० हेक्टर, विरुवा गाउँपालिकामा १५५ हेक्टर र हरिनास गाउँपालिकामा ४५ हेक्टर क्षेत्रफलमा सुन्तलाको व्यवसायिक खेती गरिएको छ । जिल्लामा उत्पादित सुन्तला मध्ये १० प्रतिशत मात्रै जिल्लामा खपत हुने गरेको छ भने ९० प्रतिशत सुन्तला जिल्ला बाहिर निर्यात हुने गरेको छ ।



प्रतिक्रिया दिनुहोस !