२३ आश्विन २०८१, बुधबार

संसद सेवामा कार्यरत कर्मचारीहरूको सेवा, सुविधा बढाउन प्रयत्न गर्छु : मन्त्री गुरुङ

प्रकाशित मिति :  14 December, 2023 4:58 pm


काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले संसद सेवामा कार्यरत कर्मचारीहरुको सेवा, सुविधा बढाउन प्रयत्न गर्ने आश्वसन दिएका छन् ।

बिहीवार संघीय संसद सचिवालयले १७ औँ संघीय संसद सेवा दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले संसद सेवामा कार्यरत कर्मचारीहरुको सेवा, सुविधा बढाउन अर्थमन्त्री र प्रधानमन्त्रीसँग छलफल गर्ने बताएका हुन् ।

उनले पहिलो र दोस्रो संविधान सभाको पालामा संसदका कर्मचारीहरु रातभर काम गर्नुपरेको कुरा स्मरण गर्दै कर्मचारीहरुको कामप्रतिको लगावप्रति आफू नतमस्तक भएको बताए ।

“म संसदीय मामिला मन्त्री भएकै कारण पनि मेरो ध्यानाकर्षण भएको छ । संघीय संसदका कर्मचारी साथीहरुको सेवा, सुविधाका सन्दर्भमा, आजसम्म भएका अप्ठ्यारो सन्दर्भमा पूरै रुपमा मेरो ध्यानाकर्षण भएको छ”,मन्त्री गुरुङले भने, “म यस सन्दर्भमा मन्त्रीज्युहरुसँग बसेर छलफल गर्नेछु । र प्रधानमन्त्रीज्युसँग पनि यो कुरामा छलफल गर्नेछु ।”

संसदका कर्मचारीहरूको कमप्रतिको तदारुकता, जाँगर, परिश्रम र मेहनत अतुलनीय रहेको भन्दै मन्त्री गुरुङले उनीहरूको दुःख बुझ्ने पनि बताए ।



प्रतिक्रिया दिनुहोस !