२३ आश्विन २०८१, बुधबार

काठमाडौं महानगरलाई ऐतिहासिक शहरका रूपमा विकास गर्ने प्रयास प्रशंसनीय : प्रधानमन्त्री

प्रकाशित मिति :  15 December, 2023 1:34 pm


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको जग मजबुत बनाउन नीतिगत सुधार गर्दै वित्तीय हस्तान्तरणको विषयलाई प्रभावकारी बनाउने बताए ।

शुक्रबार काठमाडौं महानगरपालिका २९ औं वर्षमा प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले स्थानीय सरकारको मान्यताअनुसार अधिकारसम्पन्न तुल्याउन वित्तीय हस्तान्तरणको विषय थप प्रभावकारी बनाउने बताए ।

“नेपालको संविधानले सहकारिता र सहअस्तित्वको आधारमा तीन तहको सरकारको प्रष्ट व्यवस्था गरेको छ ।” प्रधानमन्त्री दाहालले भने “संविधानले परिलक्षित गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ तुल्याउन सङ्घीय कानुनहरूको निर्माण गरेको पहिलो प्राथमिकतामा छ । सङ्घीय कानुनको निर्माण र व्यवस्थित कार्यान्वयनबाट मात्रै सङ्घीय प्रणालीलाई थप सुदृढ र जनताको हितमा सदुपयोग गर्न सकिन्छ भन्ने मेरो विश्वास छ ।”

प्रधानमन्त्रीले संवैधानिक अभ्यासमा थप परिपक्वता ल्याउन काठमाडौं महानगरपालिका लगायतका सबै स्थानीय सरकारलाई बलियो बनाउन नेपाल सरकार दृढ रहेको जानकारी गराए ।

काठमाडौं देशको राजधानी मात्र नभएर विश्वकै प्राचीन शहरहरूमध्येको एक सांस्कृतिक शहर रहेको बताए ।

विद्यमान विशिष्ट विशेषता बोकेका कला, संस्कृति, जीवनशैली, खानपान आदिले काठमाडौंलाई खुला संग्रहालयका रूपमा विश्वमाँझ चिनाएको प्रधानमन्त्रीको भनाई छ ।

प्रधानमन्त्रीले भने “हाम्रा यस्ता आदिम वैभवहरूको उचित संरक्षणले एकातर्फ काठमाडौंको विशिष्ट वैश्विक पहिचानको जगेर्ना गर्दछ, अर्कोतर्फ पर्यटन प्रवद्र्धनका माध्यमबाट नागरिक जीवनमा सम्पन्नता ल्याउन महत्वपूर्ण योगदान पु¥याउँछ । तसर्थ, काठमाडौंको विकास, सभ्यता र संस्कृतिको संरक्षण र प्रवर्धन एवं यहाँको सौन्दर्य देशकै राष्ट्रिय कार्यभार हो र हुनुपर्दछ ।”

प्रधानमन्त्रीले पछिल्लो समय काठमाडौं महानगरले गरेका प्रगतिशील कामहरू गम्भीरतापूर्वक नियालिरहेको बताए ।

शहरको सौन्दर्य, शिक्षाको व्यवस्थापन एवं विकास, सार्वजनिक शौचालयहरूको निर्माण र व्यवस्थापन, सांस्कृतिक सम्पदाहरू संरक्षण, लागू औषध, सूर्ति–चुरोट लगायतका वस्तुमा लगाएको नियमन, छात्रवृत्ति, रोजगारी सिर्जना लगायतका क्षेत्रमा महानगरले जे–जति पहल लिएको छ, देशले सङ्घीय सरकारलाई समेत सकारात्मक उत्प्रेरणा पैदा गरिरहेको प्रधानमन्त्रीले बताए ।
“राजधानी शहरलाई सफा, हरियालीयुक्त, साँस्कृतिक वैभवको जगेर्नाका माध्यमबाट स्पन्दनयुक्त र आधुनिक विशेषताहरूले भरिपूर्ण ऐतिहासिक शहरका रूपमा विकास गर्न तपाईहरूको प्रयास प्रशंसनीय छ ।” उनले भने

प्रधानमन्त्रीले महानगर प्रमुख, उपप्रमुख लगायत सिङ्गो महानगर परिवारलाई हार्दिक बधाइ ज्ञापन गर्दै आगामी दिनमा समेत अविचलित रूपमा अगाडि बढ्न अपील गरे ।



प्रतिक्रिया दिनुहोस !