२३ आश्विन २०८१, बुधबार

नेपाली श्रमिकहरूलाई ‘फ्री भिसा फ्री टिकट’मा पठाउन सकिँदैन : सचिव भण्डारी

प्रकाशित मिति :  17 December, 2023 6:26 pm


काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव केवलप्रसाद भण्डारीले वैदेशिक रोजगारीको लागि ‘फ्री भिसा फ्री टिकट’ मा नेपाली श्रमिकहरू पठाउन नसकिने बताएका छन् ।

आइतबार मन्त्रालयमा अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस (डिसेम्बर १८) को पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै श्रम सचिव भण्डारीले यस्तो बताएका हुन् ।

उनले नेपालबाट वैदेशिक रोजगारीको लागि विभिन्न खाडी लगायत मुलुकहरूमा ‘फ्री भिसा फ्री टिकट’मा पठाउने काम भए पनि पठाउन नसकिने स्पष्ट पारे । उनले योग्यता क्षमता र सीप भएका श्रमिकहरुको माग गर्दा नै त्यो देशको एजेन्सीहरुले समेत कमिसन लिने गरेको बताए । उनले श्रमिक माग गर्दा नै लागत लाग्ने भएकाले फ्री भिसा फ्री टिकटमा श्रमिक पठाउन नकिने देखिएको बताए ।

सचिव भण्डारीले सरकारले फ्री भिसा फ्री टिकट नीति कार्यान्वयनका लागि काम गरेको तर सम्भव नभएको उल्लेख गरे । उनले स्वास्थ्य मन्त्रालयले स्वास्थ्य परीक्षण प्रक्रियाकै लागि लगभग १२ हजार खर्च हुने मापदण्ड बनाएको भन्दै लिँदै आएको १० हजारमा पठाउन नसकिने बताए ।

उनले श्रमिकहरूको एक महिनाको पारिश्रमिक बराबर सेवा शुल्क म्यानपावरले लिन पाउने र सीपयुक्त श्रमिकबाट फरक सेवा शुल्क लिनसक्ने गरी मन्त्रालयले छलफल गरिरहेको बताए ।

सचिव भण्डारीले अभिमुखीकरण तालिमका दिन्छु भनेर खोदिएका संस्थाहरुले अभिमुखीकरण तालिम नदिए तत्काल खारेज गर्ने बताए । उनले मन्त्रालयले अनुगमनका क्रममा धेरै संस्थाहरुले तालिम नदिएको पाएकाले त्यस्ता संस्थाहरु खारेज गर्न लागेको बताए । उनले दर्ता गर्ने तर कर्तव्य पालना नगरेपछि त्यस्ता संस्थाहरुलाई खारेज हुने बताए ।

अन्तर्राष्ट्रिय आप्रवासी दिवस हरेक वर्ष डिसेम्बर १८ मा मनाइन्छ । यो वर्ष नेपालले आप्रवासी र आश्रित परिवारको संरक्षण, महिला आप्रवासी श्रमिकको सम्मान गर्न लैंगिक विभेदको अन्त्य, आप्रवासी श्रमिकको स्वास्थ्य र सामाजिक सुरक्षाको विषयलाई प्राथमिकता दिइएको छ ।



प्रतिक्रिया दिनुहोस !