२३ आश्विन २०८१, बुधबार

यातायातमन्त्रीको दाबी : काठमाडौँ उपत्यकामा खाल्डाखुल्डी छैनन्

प्रकाशित मिति :  18 December, 2023 1:32 pm


काठमाडाैँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले काठमाडौँ उपत्यकामा अहिले खाल्डाखुल्डीरहित बनेको दाबी गरेका छन्।

सोमबार ललितपुर महानगरपालिकाको १०५औँ स्थापना दिवसको अवसरमा महानगरपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका कुनै पनि सडकमा अहिले खाल्डाखुल्डी नदेखिने मन्त्री ज्वालाले बताए।

“काठमाडौँ उपत्यका अहिले खाल्डाखुल्डीरहित बनेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका कुनै पनि सडकमा अहिले खाल्डा देख्न सक्नुहुन्न,” मन्त्री ज्वालाले भनेका छन्, “खानेपानीले समस्या बनाउँछ, विद्युत्ले समस्या बनाउँछ र पनि हामीले हाम्रो मन्त्रालयअन्तर्गतका खाल्डाखुल्डी मर्मत गरेका छौँ। बाँकी कहीँकतै छ भने त्यसको मर्मत गर्न प्रतिबद्ध छौँ।”

तीनै तहका सकारले एकआपसमा समन्वय, सहकार्य र सहअस्तित्व गरेर अघि बढ्ने हो भने विकास निर्माणको क्षेत्रमा धेरै अघि बढ्न सकिने ज्वालाले बताएका हुन्।

मन्त्री ज्वालाले काठमाडौँ उपत्यकालाई धुलोरहित बनाउने, यातायात व्यवस्थालाई सुगम, भरपर्दो र सुरक्षित बनउने कुरामा आफू सहकार्य गर्न तयार रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !