२३ आश्विन २०८१, बुधबार

नेपाली समाजको एकता र समानता लागू हुने क्रममा छ : राष्ट्रपति पौडेल

प्रकाशित मिति :  18 December, 2023 4:22 pm


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान शासन व्यवस्था विधिधतायुक्त नेपाली समाजको एकताका लागि महत्वपूर्ण रहेको बताएका छन् ।

आइतबार काठमाडौँमा आयोजित त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोहमा बोल्दै उनले जनताको ठूलो दुःख र त्याग पश्चात यो शासन व्यवस्था आएको र यसले नेपाली समाजको एकता र समानता लागू गर्ने क्रममा रहेको पनि बताएका हुन् ।

राष्ट्रपति पौडेलले त्रिभुवन विश्वविद्यालयबाट दीक्षित भएकाहरुसँग जनताको र राष्ट्रको भाग्य र भविष्य पनि जोडिएकाले सोही अनुसारको काम गर्नुपर्ने पनि बताए ।

उनले राष्ट्र र जनताप्रति दायित्व नभुली अघि बढ्न पनि शिक्षित युवाहरुले राष्ट्र निर्माणको काममा लागिपर्ने विश्वास समेत व्यक्त गरे । राष्ट्रपति पौडेलले सक्षम, सबल र समृद्ध राष्ट्र निर्माणका लागि शिक्षित युवाहरुको भुमिका महत्वपूर्ण हुने विश्वास समेत व्यक्त गरे।

उनले भने, ‘‘हाम्रो देशमा जनताको दुःख र त्यागपश्चात जनता सार्वभौम हुने लोकतान्त्रिक व्यवस्था स्थापना भएको छ । समावेशी विशेषतायुक्त यस व्यवस्था र अहिलेको संविधानले सामाजिक एकता र समानता नेपाली समाजमा लागू गर्ने क्रममा रहेको छ । भौगोलिक, साँस्कृतिक र जातीय विविधतायुक्त हाम्रो नेपाली समाजको एकताका लागि यो अत्यन्तै महत्वपूर्ण पक्ष हो भनेर हामीले बुझन जरुरी छ । वर्तमान युगमा शिक्षाबिनाको समाजको कल्पना पनि गर्न सकिँदैन । त्यसैले शिक्षा विकासका लागि पर्याप्त नभएपनि नेपाल सरकारले शिक्षा क्षेत्रमा ठूलो लगानी गर्दै आएको छ । त्यसको प्रतिफल तपाईहरुको परिश्रमसमेतका कारण आज तपाईहरु यो स्थानमा हुनुहुन्छ । तपाईहरुमा हाम्रो मुलुकको भाग्य र भविष्य जोडिएको छ ।’’

राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको असरका कारण नेपालको सगरमाथासहितका हिमालहरु काला पहाडमा रुपान्तरण हुन लागेकोमा चिन्ता व्यक्त गर्दै त्यसो हुन नदिन पनि शिक्षित युवाहरुले कार्बन उत्सर्जनको कामलाई न्युनिकरण गर्दै लैजान नेतृत्वदायी भुमिका निर्वाह गर्नुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !