२३ आश्विन २०८१, बुधबार

जनताले एमाले नेतृत्वको सरकार खोजेका छन्: उपाध्यक्ष थापा

प्रकाशित मिति :  18 December, 2023 6:43 pm


काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापाले नेपाली जनताले एमाले नेतृत्वको सरकार खोजेको बताएका छन् ।

सोमबार पाँचथरको फिदिममा कुराकानी गर्दै उपाध्यक्ष थापाले नेपाली जनताले एमाले नेतृत्वको सरकार खोजेका बताएका हुन् । उनले आफूहरूको झुलाघाट–चिवाभञ्ज्याङको यात्राका क्रममा नेपाली जनताले देशमा एमालेको नेतृत्व खोजेको स्पष्ट भएको बताए । उनले एमालेले मात्रै देशलाई समृद्धिको दिशामा अगाडी बढाउन सक्छ भन्ने देखाएको बताए ।

उपाध्यक्ष थापाले देशको राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र विकासमा एमालेले मात्रै अगाडी बढाउन सक्ने उल्लेख गरे । त्यस्तै समाजवादको स्थापना र त्यसको आधार निर्माण पनि एमालेको नेतृत्वले मात्रै गर्न सक्छ भन्ने देखाएको उनको भनाई छ । उनले एमालेको संकल्प यात्राले अगामी ०८४ सालमा एमालेको बहुमतको सरकार निर्माण गर्ने लक्ष्य हासिल गर्न महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरे ।

उपाध्यक्ष थापाले यात्राले एमालेको राजनीतिक कार्यदिशालाई जनतामाझ स्थापित गर्न पनि भूमिका खेलेको बताए । नेता, कार्यकर्ताले सो अभियानबाट धेरै ज्ञानगुनका कुरा सिकेको पनि उनको भनाई छ । उनले नेपालमा समाजवाद स्थापनार्थ नीति, कार्ययोजना निर्माणका लागि पनि यात्राले भूमिका खेलेको बताए ।

उपाध्यक्ष थापाले एमालेको संकल्पयात्रा भण्डाफोर अभियानको रुपमा पनि रहेको उल्लेख गर्दै नेपालमा हाबी भएको दक्षिणपन्थी प्रवृत्तिलाई पनि चिरेको बताए ।



प्रतिक्रिया दिनुहोस !