२३ आश्विन २०८१, बुधबार

नेपालले प्रदेश धान्न सक्दैन, खारेज गर्नुपर्छः अध्यक्ष केसी

प्रकाशित मिति :  19 December, 2023 2:17 pm


काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रदेश खारेज गर्नुपर्ने बताएका छन् ।

मंगलवार बुटवलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले संघीय प्रणाली असाध्यै खर्चिलो भएको र संघीय प्रणाली बोक्नुमा नेताहरुमात्रै नभइ नेपाली जनता पनि उत्तिकै दोषी रहेको बताए ।

उनले संघीयताका कारणले ८८४ जना सांसद र १३८ जना मन्त्रीहरु पाल्नुपरेको बताए । उनले सरकारले सेना, प्रहरीको तलव र वृद्धभत्ता दिन नसक्ने भनिरहेको बेलामा यति धेरै सांसद र मन्त्रीहरुलाई कसरी पाल्न सक्नछ भन्दै प्रश्न गरे ।

उनले भने, “छिमेका ठूला देश छन्, त्यसकारण मुलुक आफ्नो खुट्टामा उभिन सकेको छैन । अर्थतन्त्र कमजोर छ, संघीय प्रणाली असाध्यै खर्चिलो छ । त्यसकारण भुगोल, शासक, प्रशासक, अर्थतन्त्रको कारणले संघीयता प्रणाली यो मुलुकमा काम नै छैन । संघीयतामा जानको लागि राजनीतिक पार्टीहरुमात्रै दोषी छैनन्, यसमा अन्तर्राष्ट्रिय शक्तिले दबाब दिए, फसे । जनताले पनि बुझ्न सक्नुभएन । संघीयता आएपछि सिंहदरबारको अधिकार गाउँगाउँमा जाने भनेर जनता अल्मलिए । संघीय प्रणाली बोक्नुमा नेताहरुमात्रै नभइ नेपाली जनता पनि मञ्जुर भएका हुन् ।”

उनले प्रदेशमा हुने खर्च नगरपालिका र गाउँपालिकामा पठाउने बताए । अध्यक्ष केसीले नेपालमा लोकतान्त्रिक गणतन्त्रको विकल्प नरहेको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !