२३ आश्विन २०८१, बुधबार

जनताको चाहना भए संसद्‍बाट फिर्ता भई आन्दोलन गर्छौँ : अध्यक्ष लिङ्देन

प्रकाशित मिति :  19 December, 2023 5:09 pm


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जनताको चाहना भए संघीय संसद्बाट फिर्ता भई आन्दोलनलाई अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।

पार्टीको केन्द्रीय समितिको बैठकपछि मङ्गलवार निर्णय सुनाउने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले तत्काल प्रदेशमा रहेका सदस्यहरू फिर्ता लिने कुनै निर्णय नगरेको स्पष्ट पार्दै आन्दोलन अघि बढ्दै गयो र जनताको चाहना भयो भने राप्रपा प्रदेशमा मात्र नभई प्रतिनिधि सभाबाट पनि फिर्ता भएर आन्दोलनलाई अझ सशक्त बनाएर अघि जाने बताए ।

उनले भने, “राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेशमा मात्र होइन, अन्य तहहरूमा समेत संविधानसँग सहकार्य गरिरहेको छ । अहिले हामीले तत्काल प्रदेशमा रहेका हाम्रा सदस्यहरू फिर्ता लिने कुनै निर्णय गरेका छैनौँ तर आन्दोलन अघि बढ्दै गयो र जनताको चाहना भयो भने राप्रपा प्रदेशमा मात्र होइन, प्रतिनिधि सभाबाट पनि फिर्ता भएर आन्दोलनलाई अझ सशक्त बनाएर अघि जान सक्ने सम्भावना छ ।”

अध्यक्ष लिङ्देनले सरकारको एक वर्षे कार्यकाल सुखद नभएको र देश अर्थतन्त्रसहित सर्वाङ्गीण हिसाबले अधोगतितर्फ गएको दाबी गरे ।



प्रतिक्रिया दिनुहोस !