२३ आश्विन २०८१, बुधबार

भीरकाेटका संस्थागत विद्यालयलाई ‘सेनेटरी प्याड’ वितरण

प्रकाशित मिति :  19 December, 2023 7:04 pm


नारायण प्रसाद काेइराला

काठमाडौँ । स्याङ्जाकाे भीरकाेट नगरपालिकाले पालिकाभित्र रहेको संस्थागत विद्यालयहरूमा ‘सेनेटरी प्याड’ वितरण गरेको छ।

पालिकाकाभित्रका पाँच वटा माध्यमिक विद्यालयमा सेनेटरी प्याड वितरण गरिएको बालमैत्री नगर सहजकर्ता विष्णुमाया काफ्लेले जानकारी दिइन्।

उनका अनुसार भू.पू सैनिक कम्युनिटी एकेडेमीमा ९ सय थान, कन्साइन्स आवासीय मा.वि. मा १ हजार २ सय थान ,बुद्ध मेमोरियल आवासीय मा.वि. मा ५ सय थान, बालोदय आवासीय मा.वि. मा ७ सय थान र बालज्योती आवासीय मा.वि. मा ६ सय थान प्याड वितरण गरिएको हो।

नगरपालिकाको सवारी साधनले विद्यालयमै लगेर करिब ४ हजार थान प्याड वितरण गरिएको काफ्लेले जानकारी दिइन्।

बालमैत्री स्थानीय शासनलाई सवलीकरण गर्न र विद्यार्थीहरूमा समानताको अनुभव दिलाउन निशुल्क प्याड वितरण गरिएको नगर उपप्रमुख भगवती रेग्मी अर्यालले जानकारी दिइन् ।

बालमैत्री नगरपालिका भएकाले संस्थागत विद्यालयलाई समेत स्थानीय तहको आर्थिक स्रोतबाट बजेट विनियोजन गरी प्याड वितरण गरिएको उनको भनाई छ।

विद्यार्थीहरूको माग र आवश्यकता अनुसार सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीहरूलाई खेलकुद सामाग्री समेत प्रदान गरिने उपप्रमुख अर्यालले जानकारी दिइन्।

सामुदायिक विद्यालयमा नियमित रूपमा प्याड वितरण गरिरहेको नगरपालिकाले पहिलोपटक संस्थागत विद्यालयमा प्याड वितरण गरेको हो।अबदेखी नियमित रूपमै प्याड वितरण गरिने बालमैत्री नगर सहजकर्ता काफ्लेले बताइन्।

बालबिबाह र जंकफुड विरूद्ध जनचेतना जगाउने खालका फेक्स बोर्डहरू समेत सम्पूर्ण विद्यालयहरूमा वितरण गरिएको बताउँदै उनले पालिकाभित्रका सम्पूर्ण स्वास्थ्य संस्था, पर्यटकीय स्थलहरू, सिटीहल र दहथुम प्रहरी चौकीमा समेत सचेतनामूलक बोर्डहरू राखिएको उनले बताइन् ।

दहथुम प्रहरी चौकीमा बालमैत्री सम्पर्क कक्ष समेत स्थापना गरिएको छ। २०७७ सालमा घोषणा भएपछि शिथिल बनेको बालमैत्री अभियान गोविन्द कुमार कर्माचार्यको नेतृत्वमा स्थानीय सरकार गठन भएपछि बौरदै गएको छ।



प्रतिक्रिया दिनुहोस !