२३ आश्विन २०८१, बुधबार

चितवनमा ३९६ किलो गाँजासहित २ जना भारतीय नागरिक पक्राउ

प्रकाशित मिति :  20 December, 2023 8:05 am


चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले ३ सय ९६ किलो लागुऔषध गाँजासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश सम्बल जिल्ला बैजई थाना पूरा गाउँका ४५ वर्षीय अनिल गिरी र केलादेवी थाना अपावती कुतवपुर गाउँका ३७ वर्षीय राजपाल सिंह छन् । उनीहरुलाई प्रहरीले मङ्गलबार साँझ सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी उपरीक्षक रामेश्वर कार्की समेतको प्रहरी टोलीले प्राप्त सुचनाका आधारमा भरतपुर महानगरपालिका वडा न १ स्थित लोकमार्ग खडकखण्डबाट उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुले भारतीय नं प्लेटको जेएच ०२ डब्लु ९६३१ नंको ट्रकमा क्याबिनको भागमा फल्स बटममा प्लास्टिकले बेरिएको २८ वटा पोका बनाई लुकाई–छिपाई ल्याएको ३९६ किलो गाँजा मुग्लिनबाट नारायणगढतर्फ ल्याउँदै गर्दा पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीहरुलाई लागुऔषध ओसारपोसार मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !