टिआरसी विधेयक सर्वसम्मतिबाट नटुंगिए प्रक्रियागत रूपबाट टुंग्याउनुपर्छ: सभामुख घिमिरे
काठमाडौँ । सभामुख देवराज घिमिरेले सर्वसम्मतिबाट शान्ति प्रक्रियाका बाँकी काम टुंगिन नसके प्रक्रियागत ढंगबाट टुंग्याएर कार्यान्वयन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।
बुधबार काठमाडौँमा भएको संक्रमणकालीन न्यायमा बारुदी सुरुङ र विस्फोटक पदार्थका पीडितहरूको न्याय तथा माइन एक्सनमा समावेशिताको सवाल विषयक गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् ।
सभामुख घिमिरेले सबैको साझा समस्या भएकाले सकेसम्म सर्वसम्मत रूपमा टुंग्याउनुपर्ने र सर्वसम्मत हुन नसके प्रक्रियागत रूपमा टुंग्याइ कार्यान्वयनको चरणमा लैजानुपर्ने बताए ।
उनले एकले अर्कोलाई दोष देखाएर नभई जिम्मेवारीमा बसेको बेलामा यसको समाधान खोज्नुपर्ने बताए । घिमिरेले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउँदा सबै पक्षलाई समेटेर अघि बढ्नुपर्ने बताए ।
उनले सत्तापक्ष, प्रतिपक्ष सरकार, गैरसरकारी संस्था, बुद्धिजीवी, राजनीतिज्ञहरू सबै मिलेर शान्ति प्रक्रियाका बाँकी काम ढिलो नगरी टुंग्याउनुपर्ने बताए । उनले शान्ति प्रक्रियाका बाँकी काम अमुकअमुक नेताहरूको अघि सारेर मात्रै नटुंगिने आशंका व्यक्त गरे ।
सभामुख घिमिरेले टिआरसीसँग सम्बन्धित विधेयक समितिबाटै सबैले टुंग्याउन पहल गर्नुपर्ने बताए ।