२३ आश्विन २०८१, बुधबार

नेपालले भूराजनीतिक सहायताको आधारमा वैदेशिक सहायता लिन्छ: पूर्वअर्थमन्त्री खतिवडा

प्रकाशित मिति :  22 December, 2023 3:06 pm


काठमाडौँ । पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले नेपालले भूराजनीतिक साहायताको आधारमा वैदेशिक अनुदान र सहयोग लिने गरेको बताएका छन् ।

शुक्रबार वैदेशिक सहयोगको प्रभावकारिता आधारित डा.डिल्लीराज खनालद्वारा लिखित पुस्तक विमोचन कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री डा.खतिवडाले आर्थिक विकासको लागि भन्दा पनि नेपालले भूराजनीतिक साहायताको आधारमा वैदेशिक अनुदान र सहयोग लिने गरेको बताएका हुन् ।

उनले वैदेशिक सहयोगमा राजनीतिक अर्थतन्त्रका कुराहरू जोडिने गरेको बताए । राजनीतिक र विश्व अर्थतन्त्रमा पावरको हिसाबले नसोचेको भए अमेरिकी परियोजना एमसीसी विगतमा ल्याउन लागिएको थियो भन्ने कथा मात्रै सुनिने तर कार्यान्वयनमा आउने अवस्था नभएको उनको भनाई थियो ।

पूर्वअर्थमन्त्री डा.खतिवडाले भूराजनीतिक र विश्व अर्थतन्त्रमा अमेरिका बलियो भएकाले नै एमसीसी परियोजना कार्यान्वयनमा ल्याउनुपरेको स्पष्ट पारे । उनले भूराजनीतिक र विश्वमा अर्थतन्त्रको पावरको हिसाबमा नेपालले कुन देशको सहायता लिँदा र नलिँदा कस्तो असरपर्छ भन्ने विषयमा तुलना गर्न आवश्यक हुने बताए । उनले नेपालमा कतिपय योजनाहरू सरकारको खुसीले भन्दा पनि शक्ति सन्तुलनको रूपमा लिइरहेको दाबी गरे ।

डा.खतिवडाले अर्थतन्त्रमा विश्वको पावर मुलुकको परियोजना नभए देश नचल्ने भन्ने अवस्था नभएको भन्दै अमेरिकाको एमसीसी अगाडि बढाउँछौँ भने चीनको बिआरआई परियोजना पनि नेपालले अगाडि बढाउनुपर्ने आफ्नो धारणा रहेको उल्लेख गरे । उनले वैदेशिक सहायता स्वीकार गर्दा भूराजनीतिक सन्तुलन नेपालको लागि जरुरी रहेको बताए । उनले नेपाल कुनै पनि देशको सहायता लिनुहुन्न भन्ने अवस्थामा अहिले नपुगेको पनि उल्लेख गरे ।

उनले अबको १५ वर्षसम्म ५ देखि ७ प्रतिशतको आर्थिक वृद्धि गर्दा अनुदान लिँदैनौँ भन्ने अवस्थामा पुग्न सकिने दाबी गरे । उनले अल्पविकसित देशबाट विकासोन्मुख देशमा स्तर उन्नति भएपछि अनुदान हट्दै जाने अवस्था रहेको भन्दै अनुदान नलिने अवस्थामा पुग्नको लागि मुलुकको आन्तरिक राजश्व बलियो बनाउन आवश्यक रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !