२४ आश्विन २०८१, बिहिबार

एनसेल खरिदकर्तालाई ‘ओलीले पनि चिनेको’ भन्ने प्रधानमन्त्रीको भनाइप्रति ओलीको आपत्ति

प्रकाशित मिति :  24 December, 2023 4:39 pm


काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एनसेल खरिद गर्ने व्यापारीलाई आफूले पनि चिनेको भन्ने प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।

प्रधानमन्त्री दाहालले संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा एनसेल खरिद गर्ने व्यापारीलाई ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले पनि चिनेको बताएका थिए।

आइतबार पार्टीको हालै सम्पन्न झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि संकल्प यात्राबारे सञ्चारकर्मीसँग संवाद कार्यक्रममा उनले राज्यको खर्बौं सम्पत्ति नोक्शान हुने खालको बेथिति गर्नु र सो व्यापारी चिन्नु एउटै कुरा हो? भनि प्रधानमन्त्री दाहाललाई प्रश्न समेत गरे। सो सम्बन्धमा सरकारले लोकलाजको समेत ख्याल नगरेको ओलीको जिकिर थियो। उनले व्यक्तिको फाइदाका लागि राज्यको सम्पत्ति डुबाउने कुरा तत्काल रोकिनुपर्ने बताए।

‘‘अब त कस्तो भयो भने तपाईंहरूको सरकारले यस्तो बेथिति गरेछ नि भन्दा त्यो बेथिति गर्‍यो भन्ने व्यापारीलाई त केपी ओली पनि चिन्नुभएको छ नि भनियो। केपी ओलीले नेपालका व्यापारी किन चिन्दैन? चिन्छ नि त। अनि व्यापारी चिन्नु र बेथिति गर्नु एउटै कुरा होरु त्यसकारण यस्ता खालको असान्दर्भिक कुराहरु गरेर ध्यान अर्कातिर मोडेर पाइन्न,” उनले भने।

यस्तै, अध्यक्ष ओलीले डेडिकेटेड लाइनबाट विद्युत उपयोग नगरेका उद्योगीहरूको विद्युत काट्ने काम नगर्न पनि सरकारलाई सचेत गराए।

मुलुकमा उद्योगी, व्यवसायीहरू मारमा परेर आफैँ उद्योग बन्द गर्ने अवस्थामा पुगेका बेला सरकारले कोरोनाकालका बेला डेडिकेटेड लाइन लिएका तर विद्युत खपत नगरेका उद्योगीहरुको पनि विद्युत लाइन काट्ने काम गर्न नहुने उनले बताए ।



प्रतिक्रिया दिनुहोस !