२४ आश्विन २०८१, बिहिबार

दक्ष जनशक्ति देशबाहिर हुँदा क्षति भइरहेको छः मन्त्री साउद

प्रकाशित मिति :  25 December, 2023 12:55 pm


काठमाडौँ । परराष्ट्र मन्त्री नारायणप्रकाश साउदले दक्ष जनशक्ति बिदेसिँदा मुलुकलाई क्षति भइरहेको बताएका छन् ।

सोमवार उडान शैक्षिक केन्द्रले काठमाडौँमा आयोजना गरेको विद्यार्थी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साउदले दक्ष जनशक्ति विदेश जाँदा मुलुकलाई क्षति भइरहेको बताएका हुन् ।

उनले चिकित्सक, इन्जिनियर, प्राध्यापक, अर्थशास्त्री जस्ता धेरै पढेलेखेका मानिसहरू विदेसिरहेका भन्दै यसले देशको आर्थिक अवस्थालाई समेत असर परेको बताए । उनले कामदारका रुपमा पनि बिदेसिने गरेका भन्दै क्षमतावान व्यक्तिहरूले देश छोड्दा देशको आर्थिक अवस्था सुदृढ हुन नसक्ने बताए ।

उनले देशको कुल जनसङ्ख्यामध्ये युवाहरूको जनसङ्ख्या धेरै रहेको उल्लेख गर्दै देशेको विकास र आर्थिक समृद्धि गर्ने उपयुक्त समय यही भएको बताए । मन्त्री साउदले काम गर्ने जनसङ्ख्या कम हुँदै जाँदा देशको आर्थिक विकास गर्न नसकिने बताए । उनले अहिले काम गर्ने समय भएको भन्दै सबैको ध्यानाकर्षण गराए ।

उनले भने, “धेरै पढे, लेखेका मान्छेहरू डाक्टर, इन्जिनियर, प्राध्यापक, अर्थशास्त्री उनीहरू पनि बाहिर गइरहेका छन् । र कामदार वर्ग पनि बाहिर गइरहेका छन् । यो अत्यन्त ठुलो लगानी भएको बुद्धिजीवी वर्ग बाहिर जान्छ त्यसलाई हामी ब्रेन ड्रेन भन्छौँ । जसमा हामीले लगानी धेरै लगाएका हुन्छौँ । अर्को ठाउँको भिसा पाएर अर्को देशमा काम ग¥यो भने हाम्रो लगानीमा त्यो मेनपावर अर्काले प्रयोग गर्न पायो । त्यो मेनपावर यदी नेपालमै राख्न सकेको भए नेपालमै प्रयोग गर्न सकेको भए डाक्टरको हकमा स्वास्थ्यको क्षेत्रमा बिरामीहरुले उपचार पाउँथे । इन्जिनियरको हकमा विभिन्न संरचनाका काम हुन्थेँ । अर्थशास्त्रीको हकमा आर्थिक गतिविधिलाई त्यसले बढाउथ्यो ।”

मन्त्री साउदले राज्य व्यवस्था र कर्मचारीतन्त्रभित्र नयाँ पुस्ताको प्रवेश जरुरी रहेको बताए । उनले राज्यका सबै क्षेत्रहरुमा दक्ष जनशक्ति उपलब्ध हुनुपर्नेमा जोड दिए ।



प्रतिक्रिया दिनुहोस !