२४ आश्विन २०८१, बिहिबार

रैथाने बालीकाे संरक्षण गर्न स्याङ्जाकाे वालिङमा बिउ बैंक स्थापना

प्रकाशित मिति :  25 December, 2023 1:51 pm


काठमाडौँ । स्याङजाको वालिङ नगरपालिकमा रैथाने बालीकाे संरक्षण गर्न बिउ बैंकको स्थापना गरिएको छ । पछिल्लो समय परम्परागत बालीहरू लोप हुँदै गएको भन्दै यसको संरक्षणका लागि वालिङ नगरपालिका वडा नम्बर ८ मा बिउ बैंकको स्थापना गरिएको हो ।

वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाले वालिङ नगरपालिका,संयुक्त राष्ट्रसंघीय विकास संस्था (युएनडिपी), दियालो संस्था लगायतको सहकार्यमा बिउ बैंकको स्थापना गरेको हो ।

बिउ बैंकको युएनडिपी नेपालका उपआवासीय प्रतिनिधि (डिआरआर) जुलियन्स सेभिलियर्ड ,वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँण,निवर्तमान् नगरप्रमुख दिलिपप्रताप खाँणले संयुक्त रूपमा शुभारम्भ गरेका थिए ।

कार्यक्रममा वालिङ नगरप्रमुख कृष्ण खाँणले रैथानेबालीको संरक्षणका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए । युएनडिपी नेपालका गण्डकी र लुम्बिनी प्रदेश प्रमुख सुदिप अर्यालले रैथानेबालीको संरक्षण अभियानलाई दिगो बनाउन आवश्यक रहेको बताए । सहकारी मार्फत गरिएको अभियानलाई दीर्घकालिन योजनाका साथ अगाडि बढ्नु पर्नेमा उनको जोड छ ।

सहकारीले स्याङजा जिल्लाबाट लोप हुँदै गइरहेको रैथाने बालीको ५६ किसिमका बिउहरू संकलन गरिसकेको संस्थाका अध्यक्ष यामबहादुर गुरुङले जानकारी दिए ।

सहकारीले यो बर्ष पाखे जर्नेली, अनदी, कालो झिनुवा, रातो झिनुवा र स्थानीय जेठोबुढो गरी पाँच किसिमका धानहरूलाई रोपणका लागि सहयोग गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !