२४ आश्विन २०८१, बिहिबार

चितवन पर्यटन तथा हात्ती महोत्सवको तयारी पूरा

प्रकाशित मिति :  25 December, 2023 4:10 pm


काठमाडौँ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले चितवनको सौराहामा आयोजना गरिएको १७औँ संस्करणको ‘चितवन पर्यटन तथा हात्ती महोत्सव’को तयारी पूरा भएको छ।

विगत केही वर्षदेखि कोभिड-१९ का कारण रोकिएको महोत्सव भोलि पुस १० देखि १४ गतेसम्म हुँदैछ। क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजनामा हुन लागेको १७औँ संस्करणको महोत्सवको सम्पूर्ण तयारी पूरा भएको महोत्सवका संयोजक ओमप्रकाश पाण्डेले जानकारी दिए।

संयोजक पाण्डेले हात्ती महोत्सवका लागि आवश्यक व्यवस्थापनको काम सकिएको बताए। उनले महोत्सवमा हात्ती सुन्दरी प्रतियोगिता, हात्तीका लागि वनभोज, सांस्कृतिक झाँकीलगायतका कार्यक्रम रहेको बताए। उनले महोत्सवबाट अन्तर्राष्ट्रियस्तरमै चितवनसहित मुलुककै पर्यटन प्रवद्र्धन हुने विश्वास व्यक्त गरे।

उनले चितवनको पर्यटन क्षेत्रलाई महत्वपूर्ण गन्तव्यस्थलको रुपमा चिनारी गराउन समेत महोत्सवले टेवा पुर्याउने बताए। महोत्सवमा कृषि पर्यटनसँगै जोडिका वस्तु र थारु खानाहरु सहितको स्टल राखिने छ।

महोत्सवमा विगतमा जस्तो हात्ती पोलो, हात्ती दौडजस्ता प्रतियोगिता भने नहुने भएको छ। पर्यटक आकर्षण गर्न हात्तीसम्बन्धी गतिविधि र हात्तीको महत्वले नै चितवनमा धेरै पर्यटक आउने गरेका छन्।



प्रतिक्रिया दिनुहोस !