२४ आश्विन २०८१, बिहिबार

राष्ट्रिय सभाका लागि लुम्बिनीबाट १ सय ३० जनाको नाम सिफारिस गर्ने कांग्रेसकाे निर्णय, सभापति पुन के गर्लान ?

प्रकाशित मिति :  26 December, 2023 9:18 am


काठमाडौँ । नेपाली कांग्रेस लुम्बिनी प्रदेशले राष्ट्रिय सभा सदस्य उम्मेदवारका लागि प्रदेशबाट १ सय ३० जनाको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।

लुम्बिनी प्रदेश संसदीय बोर्डको बैठकले उम्मेदवारको नाम केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रदेशले जिल्लाबाट १/१ जनाको नाम सिफारिस गर्न आग्रह गरे पनि धेरै नाम आएपछि बोर्डले केन्द्रमा ठुलो सङ्ख्यामा सिफारिस गर्ने निर्णय गरेको हो ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले भने,“जिल्लाबाट महिला र पुरुष गरेर १/१ जनाको नाम सिफारिस गर्न भनिएको थियो तर २० जनासम्मको नाम आएको छ । सिफारिस गर्दा रोक्यो भन्ने गुनासो आउँला त्यसैले सबै मापदण्ड र अवस्था उल्लेख गरेर पठाउने निर्णय गरेका छौँ ।”

बैठकले उम्मेदवारहरूको बायोडाटासहित केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको छ । केन्द्रले ३ जनाको नाम सिफारिस गर्न भनेको थियो । अहिलेसम्म १ सय २५ जनाको नाम टुंगो लागेको छ भने बाँकी छलफल रहेको बोर्डले जनाएको छ ।

सभापति पुन के गर्लान ?

लुम्बिनी प्रदेश सभापति पुनको समेत राष्ट्रिय सभामा जाने चर्चा भएको छ ।

लुम्बिनी प्रदेशको २१ सदस्यीय बोर्डमा सोमबार उपस्थित भएका १७ जनामध्ये १३ जनाले सभापति पुन राष्ट्रिय सभामा जानुपर्ने सुझाव दिएका थिए । पुन संस्थापनइतरका हुन् ।

सभापति पुनलाई राष्ट्रिय सभामा पठाउँदा गठबन्धनमा सन्तुलन हुने नेकपा माओवादी केन्द्रको बुझाई समेत छ ।

स्रोतका अनुसार गत चुनावमा जिताउन नसकेको भन्दै नेकपा माओवादी केन्द्रका नेताहरूले पुनलाई राष्ट्रिय सभामा जान सुझाव दिएका छन् ।

पुनलाई शेखर कोइरालासहितका नेताले समेत राष्ट्रिय सभामा आउन जोड दिएको कांग्रेस स्रोत उल्लेख गर्छ ।



प्रतिक्रिया दिनुहोस !