२४ आश्विन २०८१, बिहिबार

परम्परागत मौलिक संस्कृतिको जगेर्ना गर्नु सबै नेपालीकाे साझा दायित्व हाे: प्रधानमन्त्री

प्रकाशित मिति :  26 December, 2023 1:05 pm


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परम्परागत मौलिक संस्कृतिको जगेर्ना गर्नु सम्पूर्ण नेपालीहरूको साझा दायित्व भएको बताएका छन् ।

मंगलबार बिहान २० औं राष्ट्रिय ज्यापू दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले विभिन्न जातजाति, भाषाभाषी र सांस्कृतिक समूहहरूको परम्परागत मौलिक सांस्कृतिक पहिचान नै नेपालीको पहिचान र गौरव भएको बताउँदै सांस्कृतिक परम्परालाई जगेर्ना गर्नु सबैको साझा जिम्मेवारी भएको बताए ।

प्रधानमन्त्रीको सम्बोधन पूर्णपाठ

सर्वप्रथम २० औं राष्ट्रिय दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका ज्यापु समुदाय लगायत समस्त नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु।

भिन्तुना।

नेपाल विभिन्न जातजाति, भाषाभाषी, धर्म र सांस्कृतिक समूहहरूको साझा देश हो। भौगोलिक रूपमा सानो भएता पनि यहाँको जैविक विविधता, मनोरम प्राकृतिक सम्पदाहरू र सामाजिक बनोट विश्वमै नमुना रहिआएको छ। विभिन्न जातजाति, भाषाभाषी र सांस्कृतिक समूहहरूको परम्परागत मौलिक सांस्कृतिक पहिचान नै नेपालीको पहिचान र गौरव हो। यो सांस्कृतिक परम्परालाई जगेर्ना गर्नु हामी सबैको साझा जिम्मेवारी हो।

नेपालका चाडबाड, जात्रापर्व र सांस्कृतिक सम्पदा र गतिविधिहरू नेपालका अमूल्य नीधि हुन् । नेपाल जातीय, भाषिक, धार्मिक सांस्कृतिक विविधताले सम्पन्न र हरेक समुदायले संस्कृतिलाई जीवनको अभिन्न अंगको रूपमा लिइआएका छन् । यस राष्ट्रिय ज्यापु दिवसको माध्यमबाट काठमाडौं उपत्यकाभित्रका र बाहिर रहेका ज्यापुहरूबीच मात्र नभई विभिन्न धर्म, संस्कृति, समुदाय र क्षेत्रसँग आवद्ध नागरिकहरूबीच आपसी मेलमिलाप, सद्भाव र सहिष्णुता सुदृढ गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दछु ।

सांस्कृतिक सम्पदाको धनी नेपालमा धार्मिक र सांस्कृतिक रूपमा परम्परादेखि नै विभिन्न चाडपर्व, जात्रा एवं संस्कारहरू चल्दै आएका छन्। यो नेपाली समाजको अभिन्न अङ्ग भइसकेको छ। तिनीहरूको ऐतिहासिक एवं सांस्कृतिक सम्पदाहरूको संरक्षण गरी आफ्नो परम्परालाई जीवन्त राख्न र विकासको नयाँ अवधारणासँग अनुकूलित तुल्याउनु राष्ट्रको दायित्व हो। यसै कुरालाई मनन गरी नेपाल सरकारले भौतिक तथा अभौतिक संस्कृतिलाई संरक्षण र सम्बद्र्धन गर्न प्रतिवद्ध छ।

काठमाडौं महानगरपालिकाभित्रका ज्यापुहरूले विभिन्न वाधा अड्चनको वावजुद पनि परम्परागत मौलिक संस्कृतिको जगेर्ना गरी आएको प्रयासलाई नेपाल सरकारले कदर गर्दै आइरहेको छ । सरकारको सानो सहयोगबाट सुरू भएको ज्यापु संस्कृति विकास कोषले नेपाली समुदायसमेतको सहयोग र सद्भाव लिई काठमाडौं उपत्यकाभित्रका ज्यापुहरूलाई मात्र नभएर मोफसलमा बसोबास गरेका ज्यापुहरूसमेत समेटेर बिसौं राष्ट्रिय ज्यापु दिवस मनाएकोमा तपाईहरूलाई बधाइ ज्ञापन गर्दै आगामी दिनमा समेत नेपाल सरकारको तर्फबाट साथ र सहयोग रहने विश्वास दिलाउन चाहन्छु ।

तपाईहरू सबैलाई अवगत नै छ– म पहिलोपटक प्रधानमन्त्री हुँदा नेपाल संवत्लाई राष्ट्रिय संवत्का रूपमा मनाउने निर्णय गरेको थिएँ । अहिले तेस्रो कार्यकालमा नेपाल संवत्लाई सरकारी लिखतमा अनिवार्य गर्ने निर्णय गरी उक्त निर्णयको कार्यान्वयनसमेत भइरहेको छ । यसका साथै नेपाली समाजको विशेषता र सामाजिक बनोटअनुसार सबै वर्ग, जाति, क्षेत्र, लिंग र समुदायको पहिचान र अधिकारका निम्ति मैले लगातार संघर्ष गर्दै आइरहेको छु । आगामी दिनमा समेत मेरो र नेपाल सरकारको तर्फबाट यहाँहरूलाई साथ र सहयोग रहने विश्वास दिलाउन चाहन्छु ।

ज्यापु दिवसको अवसर पारेर तपाईहरूले मलाई गर्नुभएको सम्मानका निम्तिसमेत आयोजक संस्था, ज्यापु समुदाय लगायत सम्पूर्ण नेपालीहरूमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु । साथै, पहिचान र अधिकार प्राप्तिको सङ्घर्षमा संविधानप्रदत्त बाटोबाट अगाडि बढ्न सबैमा आग्रह गर्दछु ।

अन्त्यमा, राष्ट्रिय ज्यापु दिवस–२०८० ले नयाँ जोश, उमङ्ग, उत्साहसहित ज्यापु समुदायमा मात्र नभई समस्त जनसमुदायमा खुसीको सञ्चार गर्दै राष्ट्रिय एकता र समृद्धिको सन्देश दिन सकोस् भन्ने शुभकामना व्यक्त गर्दै विदा हुन्छु । धन्यवाद ।



प्रतिक्रिया दिनुहोस !