२४ आश्विन २०८१, बिहिबार

विगत तीन वर्षदेखि भीरकोटमा एउटै वडाको सेवा दुई ठाउँबाट

प्रकाशित मिति :  26 December, 2023 1:44 pm


काठमाडौँ । स्याङ्जाको भीरकोट नगरपालिका वडा नम्बर ८ को वडा कार्यालयले दुई ठाउँबाट सेवा प्रवाह गर्दै आएको छ । भौगोलिक विकटता र जनसङ्ख्याका दृष्टिले नगरपालिका ठूलो भएपछि वडावासीको सहजताका लागि विगत तीन वर्षदेखि दुई ठाउँबाट सेवा दिँदै आइएको हो ।

वडाका सबैलाई पायकपर्ने ठाउँमा वडा कार्यालय नभएपछि वडावासीको सहजताका लागि दुई ठाउँमा वडा कार्यालय स्थापना गरी सेवा दिँदै आइएको वडाध्यक्ष नन्दलाल खनालले बताए । साविकको ढापुक सिमलभञ्ज्याङ गाविस सिङ्गैबाट बनेको ८ नम्बर वडा भौगोलिक हिसाबले विकट तथा नगरपालिकाबाट टाढा भएकाले वडाबासीको पहलमा दुई ठाउँमा कार्यालय स्थापना गरी सेवा दिइएको उनले बताए ।

“हप्तामा छ दिन कार्यालयबाट सेवा प्रवाह हुने भएकाले तीन दिन एउटा कार्यालयबाट र तीन दिन अर्को कार्यालयबाट सेवा दिँदै आएका छौँ”, खनालले भने, “आइतबारदेखि मङ्गलबार ढापुक जामुनेडाँडा वडा कार्यालय र बुधबारदेखि शुक्रबारसम्म मोहनडाँडामा रहेको वडा कार्यालयबाट सेवा दिँदै आएका छौँ ।”

वडाध्यक्षसहितका जनप्रतिनिधि तथा कर्मचारी हप्ताको पहिलो तीन दिन ढापुक जामुनेडाँडामा जाने र पछिल्लो तीन दिन मोहनडाँडामा रहेको वडा कार्यालयमा गई सेवा प्रवाह गर्दै आएका छन् ।



प्रतिक्रिया दिनुहोस !