२४ आश्विन २०८१, बिहिबार

जलवायु क्षेत्रमा आएका विदेशी सहयोग नेपालले खर्च गर्न सकेन: मन्त्री महतो

प्रकाशित मिति :  27 December, 2023 11:58 am


काठमाडौँ । वन तथा वातावरण मन्त्री डा.वीरेन्द्रप्रसाद महतोले जलवायु क्षेत्रमा आएका विदेशी सहयोगहरू नेपालले खर्च गर्न नसकेको बताएका छन् । बुधवार न्युज एजेन्सी नेपालले आयोजना गरेको विश्व जलवायु सम्मेलन (कोप २८) को उपलब्धि र आगामी कार्यदिशाबारे गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले विदेशी दाताले दिएको ४६ करोड रुपैयाँ तीन वर्ष भइसक्दासमेत नेपालले खर्च गर्न नसकेको बताए । उनले जिसिएफ फाउन्डेसनले तीन वर्षअघि जलवायु न्यूनीकरणका लागि ४६ करोड रुपैयाँ दिएको भए पनि अहिलेसम्म सरकारले न्यूनीकरणको क्षेत्रमा खर्च गर्न नसकेको र अहिले तलब, गाडी र भत्तामा खर्च गरी ३५ करोडमा झरिसकेको बताए ।

उनले जलवायु परिवर्तनबाट भएका असर न्यूनीकरणका लागि विदेशीको मात्रै मुख ताक्ने नभई आफूले पनि पहलकदमी थाल्नुपर्ने आवश्यकता औँल्याए ।

‘जिससएफ भन्ने फाउन्डेसनले क्लाइमेट सम्बन्धी खर्च गर्न ४६ करोड दिएको छ, तर तीन वर्ष भइसक्यो, त्यो ४६ करोड घटेर तीन वर्षमा ३५ करोड भएको होला । त्यो घटेको एक रुपैयाँ पनि त्यो क्लाइमेट चेन्जमा खर्च गर्न सकेनौँ, तलब, गाडी र भत्तामा मात्रै खर्च गरेका छौँ । त्यो पैसा खर्च भएको छैन’ उनले भने, ‘त्यसैले विश्वलाई गाली गर्ने होइन । हाम्रो इन्टरनल्ली समस्या हो । अरूसँग माग्छौँ, भएको पैसा खर्च गन सक्दैनौ ।

उनले सो विषयमा विश्व बैंकसँग मात्र ३ पटक छलफल भैसकेको बताए । महतोले भने, ‘ म आएपछि तीन पटक विश्व बैङ्कसँग छलफल भयो । मैले एउटै कुरा नेपाल क्लाइमेट चेन्ज सम्बन्धी कुनै पनि लोनमा पैसा लिँदैन, ग्राण्डमा दिन्छौँ भने लिन्छौँ भनेपछि २२ मिलियन पैसा दिएको छ, पैसा सानो छ, तर पैसा खर्च गर्न सक्छौँ कि सक्दैनौँ भन्ने कुरा सबैभन्दा ठुलो डर छ ।’

उनले कतिपय स्थानमा भएका कानुनी जटिलता खुलाउनुपर्ने आवश्यकता रहेको बताए । मन्त्री महतोले क्लाइमेट चेन्जसम्बन्धी काम गर्ने कर्मचारीहरू मन्त्री फेरिएसँगै फेरिने भन्दा पनि उनीहरूलाई सोही क्षेत्रमा राखेर विज्ञ बनाइ आगामी कोपका लागि तयार गर्नुपर्ने बताए ।

उनले नेपाली जनताले भोग्नुपरेको असरबारे कुरा उठाउन नसकिएको बताए । त्यसका लागि कानुनहरू जटिल रहेको मन्त्री महतोले बताए ।

“अहिले नेपालमा युरोसिक्स वल्र्डबाइज चलिरहेको छ । त्यो भनेको प्रदूषण कम गर्ने कार्य । भारतले आफ्नो देशमा युरोसिक्स गाडी चलाइरहेको छ । तर नेपालको लागि छुट्टै प्रोडक्शन गरेर कम प्राइज भएको गाडी युरो ५ नेपाललाई दिइरहेको छ । त्यहाँ कहाँ कोर्डिशन संस्थाले गरेको छ । किन बोलिरहेको छैन?” उनले भने, “नेपाली जनताले भोग्नुपरेको असरबारे हामीले कहिले पनि कुरा उठाउन सकेका छैनौँ । हामीसँग यस्तो जटिल कानुनहरू छन् । यस्तो प्रोसेसहरू छ, त्यो प्रोसेस पार गर्दै मान्छेको एकवर्ष त के चारवटा कोप आउँछ र जान्छ तैपनि हाम्रो प्रोसेस सकिएको हुँदैन, त्यसमा महसुस गरेका छौँ कि छैनौँ । वातावरण हेर्ने वन मन्त्रालय छ, त्यसमा क्लाइमेटसम्बन्धी हेर्ने चार जना छ । त्यो चार जना पनि हरेक मन्त्री परिवर्तन हुँदा परिवर्तन हुने रहेछ । उसले काम कहिले गर्ने?”

मन्त्री महतोले सरकारसँग नेपालले कति कार्बन उत्सर्जन गर्छ भन्ने तथ्याङ्क नै नरहेको बताए । उनले तथ्याङ्क सङ्कलनका लागि गर्नुपर्ने खर्च सरकारले गर्न नसकेका कारण तथ्यांकबिहीन भएर मन्त्रालय बस्नुपरेको बताए ।

मन्त्री महतोले आफूसँग भएको श्रोतलाई रोजगारी स्मृतिसँग जोडेर जानुपर्ने बताए । उनले विदेशीको सहयोगको मुख ताकेर बस्ने हो भने नेपालको समृद्धि हुन नसक्ने बताए । जलवायु परिवर्तनसम्बन्धी सबैले सधैँ एउटै आवाज उठाएर अघि बढ्न जरुरी रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !