२४ आश्विन २०८१, बिहिबार

देशी–विदेशी प्रतिक्रियावादी शक्तिहरूले मुलुकमा षड्यन्त्रका तानाबाना बुनिरहेका छन्: माधव नेपाल

प्रकाशित मिति :  27 December, 2023 3:49 pm


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशी–विदेशी प्रतिक्रियावादी शक्तिहरुले मुलुकमा षड्यन्त्रका तानाबाना बुनिरहेको बताएका छन् ।

बुधबारबाट ललितपुर सुरू भएको पार्टी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रतिगामी शक्तिहरूले संविधानमाथि आक्रमण गर्ने काम फेरि सुरु गरेकाले राजनीतिक दलहरूले गम्भीर भएर अघि बढ्नुपर्ने आवश्यकता पनि औँल्याए ।

उनले मुलुकलाई फेरि संकटबाट जोगाएर अघि बढ्नका लागि समाजवादी मोर्चामा आबद्ध सबै दलहरु एकताबद्ध भएर अघि बढ्न सहमत रहेको दाबी समेत गरे ।

समाजवादी मोर्चाको संयोजकको हैसियतले आफूले त्यहाँ भित्र पनि मुलुकको जटिल राजनीतिक परिस्थितिको बारेमा छलफल भित्र्याएको र त्यसको समाधानका लागि मोर्चामा आबद्ध सबै दलहरु एक भएर अघि बढ्न सहमत रहेको अध्यक्ष नेपालले बताए ।

उनले संविधान जोगाउनका लागि आफूहरुले विगतमा एमालेभित्रैबाट विद्रोह गर्नुपरेको र त्यसमा सफलता हात लागेको जिकिर समेत गरे ।

अध्यक्ष नेपालले नेपालको कम्युनिस्ट आन्दोलनलाई जोगाउन, बनाउन र लोकप्रिय बनाउने काममा कसरी लाग्न सकिन्छ भन्ने बारेमा पनि समाजवादी मोर्चाभित्र छलफल सुरू गरिएको बताए ।



प्रतिक्रिया दिनुहोस !