२४ आश्विन २०८१, बिहिबार

झलनाथ खनाल भन्छन्ः पार्टीमा उमेरहदको सान्दर्भिकता सकियो

प्रकाशित मिति :  27 December, 2023 5:13 pm


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीमा उमेरहदको सान्दर्भिकता नै नभएको बताएका छन् ।

बुधबारबाट ललितपुरमा सुरू भएको पार्टी केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले लागु नगरिएकाले पार्टीमा उमेरहदको सन्दर्भ हराइसकेको दाबी गरे ।

पार्टीको नवौं महाधिवेशनमा ७० वर्षे उमेरहद राखिएपनि यसको सान्दर्भिकता नदेखिएको नेता खनालको भनाई छ । नेता खनालले उमेरहद राख्ने तर विचारवान् नेताहरु जन्माउन नसकिएको पनि स्मरण गराए । उनले आगामी महाधिवेशनमा पार्टीमा युवाहरुको व्यापक उपस्थिति हुनेगरी विधान बनाउनुपर्नेमा पनि जोड दिए ।

“हामीले नवौं महाधिवेशनतिर राखेका थियौं ७० वर्ष । उमेरहद चाहिँ राख्यौं तर त्यो भन्दा तलतिरको नेता चाहिँ जन्माउन सकिएन । यो दुस्खद कुरा छ । उमेरहद राखेर मात्रै हुन्छ कि हुँदैन?घाट राखिएर यसबाट छिर्न पाईंदैन भनेर पुग्छ कि पुग्दैन ? त्यसो हुनाले विचारवान युवाहरुको पंक्ति विकास गर्ने कार्यभारलाई त अब पार्टीले प्राथमिकता दिएर जानुपर्ने नै छ,”उनले भने,”यो महाधिवेशनले पनि युवाहरुलाई व्यापक रुपमा ल्याउनुपर्ने आवश्यकता त यसै पनि छँदैछ । उमेरहदको सान्दर्भिकता नै देखिँदैन । यसको सन्दर्भ नै हराईसक्यो । यसलाई लागु पनि गरिएन, केही पनि गरिएन ।”

नेता खनालले पार्टी कमिटीका आकारहरु पनि घटाउनुपर्ने प्रस्ताव गरे । ठूलो कमिटी खर्चिलो र भद्दा हुने भएकाले यसको आकार कटौती गर्न आवश्यक रहेको उनको तर्क थियो ।



प्रतिक्रिया दिनुहोस !