२४ आश्विन २०८१, बिहिबार

ज्येष्ठ नागरिकको संरक्षणमा राज्यका सबै निकाय संवेदनशील बन्न आवश्यक छ: मन्त्री आचार्य

प्रकाशित मिति :  27 December, 2023 5:30 pm


काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले ज्येष्ठ नागरिकहरूको संरक्षणमा राज्यका सबै निकाय संवेदनशील बन्न आवश्यक रहेको बताएका छन् ।

जनसांख्यिक बनावटमा आएको परिवर्तन, बसाईसराईं, वैदेशिक रोजगारीजस्ता कारणहरूले ज्येष्ठ नागरिकहरूको संरक्षणमा नयाँ चुनौतीहरू थपिएको उल्लेख गर्दै मन्त्री आचार्यले त्यस्ता चुनौतीको समाज सुहाउँदो रणनीति तय गरेर सामना गर्नुपर्ने बताएका हुन् ।

राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ज्येष्ठ नागरिकहरुको अधिकार सुनिश्चित गर्नका लागि सरकारले सञ्चालन गरेर सेवा–सुविधा सम्बन्धी कार्यक्रमहरू प्रभावकारी रहेको दाबी समेत गरे । मन्त्री आचार्यले ज्येष्ठ नागरिकहरूका लागि दिइएको सामाजिक सुरक्षासँग सम्बन्धित कामलाई विस्तार तथा गुणस्तरीय बनाउन आफू लागिपर्ने प्रतिवद्धता पनि व्यक्त गरे।

“ज्येष्ठ नागरिकहरूको अधिकार सुनिश्चितताका लागि नेपाल सरकारले सञ्चालन गरेका विभिन्न कार्यक्रमहरु जस्तै सामाजिक सुरक्षा भत्ता, ज्येष्ठ नागरिक स्वास्थ्य बिमा, ज्येष्ठ नागरिक आश्रम, दिवा सेवा केन्द्र तथा उहाँहरूलाई सेवा, सुविधामा प्राथमिकता, छुट एवं सहुलियत प्रदान गर्ने कार्यक्रमहरू प्रभावकारी रहेको पाइएको छ ।,”उनले भने ।

मन्त्री आचार्यले ज्येष्ठ नागरिकहरूको हितका लागि प्रवुद्ध वर्ग तथा सरोकारवाला निकायको सुझावलाई सरकारले अंगिकार गरेर अघि बढ्ने बताए।



प्रतिक्रिया दिनुहोस !