२४ आश्विन २०८१, बिहिबार

लुम्बिनी प्रदेशमा निक्षेप र कर्जा बढ्यो,धेरै हिस्सा रुपन्देहीको

प्रकाशित मिति :  28 December, 2023 11:23 am


काठमाडौँ । लुम्बिनी प्रदेशमा निक्षेप र कर्जा बढेको छ ।

नेपाल राष्ट्र बैंककाे प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९/०८० मा निक्षेप र कर्जा वृद्धि भएको देखिएको हो ।

समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरूले लुम्बिनी प्रदेशबाट सङ्कलन गरेको कुल निक्षेप गत वर्षको तुलनामा १८.६६ प्रतिशतले वृद्धि भई रु.५ खर्ब ६ अर्ब ९६ करोड ३ लाख पुगेको छ ।

जिल्लाहरूको कुल निक्षेपको अवस्था तुलना गर्दा समीक्षा वर्षमा रुपन्देहीको हिस्सा सबैभन्दा धेरै ४३.३३ प्रतिशत रहेको छ भने रुकुम पूर्व जिल्लाको हिस्सा सबैभन्दा कम ०.२९ प्रतिशत रहेको छ ।

त्यसैगरी, कुल निक्षेपमा बाँके, दाङ, कपिलवस्तु, पाल्पा, गुल्मी, नवलपरासी(ब.सु.प.), अर्घाखाँची, बर्दिया, प्यूठान र रोल्पाको हिस्सा क्रमश ११.३० प्रतिशत, १०.६५ प्रतिशत, ६.६१ प्रतिशत, ६.५३ प्रतिशत, ५.६६ प्रतिशत, ५.६० प्रतिशत, ३.४२ प्रतिशत, ३.२० प्रतिशत, २.१४ प्रतिशत र १.२६ प्रतिशत रहेको छ ।

समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाले लुम्बिनी प्रदेशमा प्रवाह गरेको कर्जा गत वर्षको तुलनामा २.७१ प्रतिशतले वृद्धि भई रु.५ खर्ब ५३ अर्व ३४ करोड १८ लाख पुगेको छ ।

गत आर्थिक वर्षमा १४.९८ प्रतिशतले वृद्धि भएको थियो । त्यसैगरी, समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाको यस प्रदेशको कर्जा/निक्षेप अनुपात १०९.२९ प्रतिशत रहेको छ ।

जिल्लाहरूको कुल कर्जाको अवस्था तुलना गर्दा समीक्षा वर्षमा रुपन्देही जिल्लाको हिस्सा सबैभन्दा धेरै ४९.२१
प्रतिशत रहेको छ भने रुकुम पूर्व जिल्लाको हिस्सा सबैभन्दा कम ०.१६ प्रतिशत रहेको छ ।

त्यसैगरी, समीक्षा वर्षमा कर्जा/निक्षेप अनुपात सबैभन्दा धेरै १५४.३९ प्रतिशत बाँके जिल्लामा रहेको छ भने सबैभन्दा कम १७.६५
प्रतिशत अर्घाखाँची जिल्लामा रहेको छ ।

समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरुका यस प्रदेशमा ऋणीहरुको सङ्ख्या गत वर्षको तुलनामा ७.५७ प्रतिशतले ह्रास भई २ लाख ९४ हजार ४९२ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !