२४ आश्विन २०८१, बिहिबार

लुम्बिनी प्रदेशको मुहार फेर्न सक्ने यी हुन निर्माणधिन ठुला पूर्वाधार

प्रकाशित मिति :  28 December, 2023 11:44 am


काठमाडौँ । लुम्बिनी प्रदेशभित्र ठुला पूर्वाधार निर्माण भइरहेका छन् । नेपाल राष्ट्र बैंकले यी ठुला पूर्वाधार निर्माण भएपछि प्रदेशलाई सहज हुने आकलन गरेको छ ।

नेपाल राष्ट्र बैंकको प्रादेशिक आर्थिक गतिविधि अध्ययन (लुम्बिनी प्रदेश) वार्षिक प्रतिवेदन आ.व.२०७९/८० का अनुसार लुम्बिनी भित्र सडक पूर्वाधारमा पूर्व पश्चिम राजमार्गको नारायणगढ–बुटवल सडक खण्ड र बुटवल–गोरुसिंगे सडक खण्ड, बुटवल–पाल्पा तम्घास सडक खण्ड छन् ।

यस्तै सिद्धबाबा दोभान सडकखण्डमा सिद्धबाबा सुरुङ मार्ग, तिनाउ दानव कोरिडोर सडक र गोरुसिंगे–सन्धिखर्क सडक खण्ड लगायतका मुख्य सडकहरूको स्तरोन्नति गर्ने कार्य भइरहेको छ ।

यी आयोजनाहरू सम्पन्न भएपछि सडक लगायत अन्य पूर्वाधारका क्षेत्रहरुमा अनुकुल प्रभाव पर्ने राष्ट्र बैंकको निष्कर्ष छ ।

निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनाहरू मध्ये सिक्टा सिँचाई, बबई सिँचाई र भेरी बबई डाइभर्सन जस्ता सिँचाई आयोजनाहरूको निर्माण कार्य सम्पन्न भएपछि बाँके र बर्दिया जिल्लाहरूको खेतीयोग्य जमिनमा सिँचित क्षेत्रफल बढ्ने अनुमान राष्ट्र बैंकले गरेको छ ।

लुम्बिनी प्रदेश सरकारले दाङको देउखुरीमा रहेको राप्ती उपत्यकामा राजधानी व्यवस्थापन, लुम्बिनी प्राविधिक विश्वविद्यालय, लुम्बिनी प्रादेशिक अस्पताल र पाल्पाको रामपुरदेखि सल्यानको कपुरकोट सम्मको सडकलाई प्रादेशिक गौरवका आयोजनाको रुपमा कार्यान्वयन गरी रहेकाले आगामी वर्षमा पूर्वाधार तथा रोजगारीका क्षेत्रमा सकारात्मक प्रभाव पार्ने उल्लेख छ ।

प्रदेशभित्र लुम्बिनी केबलकार सञ्चालनमा आइसकेको तथा सिद्धार्थ केबलकार शीघ्र सञ्चालनमा आउदा बुटवल—पाल्पा क्षेत्रमा पर्यटक आवागमनमा वृद्धि भई रोजगारी समेत बढ्ने प्रतिवेदनको निष्कर्ष छ ।



प्रतिक्रिया दिनुहोस !