२४ आश्विन २०८१, बिहिबार

बालकुमारी घटनामा म र मेरो मन्त्रालयको कुनै सम्बन्ध छैनः मन्त्री ज्वाला

प्रकाशित मिति :  29 December, 2023 5:12 pm


काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बालकुमारी घटनामा आफ्नो मन्त्रालय र आफ्नो कुनै सरोकार सम्बन्ध नरहेको बताएका छन्।

शुक्रबार बालकुमारीमा कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा दिन नपाएपछि युवाहरूले गरेको प्रदर्शनका क्रममा दुई जनाको मृत्यु भएको छ।

प्रदर्शनमा उत्रिएका युवाले सडक अवरुद्ध पार्दै सवारीसाधनमा आगजानी गरेका थिए। भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडी रोकेर उनीहरूले शुरुमा हावा खुस्काएका थिए। लगत्तै उनीहरूले गाडीमा आगजनीसमेत गरेका थिए।

मन्त्री ज्वाला भने आफू पार्टीको केन्द्रीय कमिटी बैठकमा आएको र आफूलाई छोडेर गाडी फर्किएपछि बाटोमा जलाइएको मात्रै जानकारी रहेको बताए। पार्टीको बैठक सकिएपछि सञ्चारकर्मीहरूसँग बालकुमारी घटनाबारे जानकारी दिँदै उनले बालकुमारी क्षेत्रमा भएको घटनाबारे दुःख व्यक्त गर्दै घटनाका सम्बन्धमा आफूलाई जानकारी नरहेको बताए।

उनले भने,”आज बालकुमारी क्षेत्रमा जुन घटना भयो, हाम्रो गाडीमा समेत आगजनी गरियो। यो घटनाप्रति दुःख व्यक्त गर्दछु। मान्छेको ज्यान जाने कुरा र घाइते हुने कुरा पनि दुःखद् कुरा हो। आज बालकुमारीमा भएको घटनाका सम्बन्धमा हामीलाई न जानकारी छ, पूर्वजानकारी पनि छैन, न सम्बन्ध छ न सरोकार छ। हाम्रो मन्त्रालयसँग यसको कुनै सरोकार नै छैन।”

उनले घटनासँग आफू र आफ्नो मन्त्रालयको कुनै सरोकार नरहेको बताए। गाडीमा आगजनी गर्नुपर्ने कुनै कारण नरहेको पनि उनको भनाइ छ।



प्रतिक्रिया दिनुहोस !