२४ आश्विन २०८१, बिहिबार

काठमाडौँ महानगरपालिकामा तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरू

प्रकाशित मिति :  2 January, 2024 6:19 pm


काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्रका सामुदायिक विद्यालयमा अध्ययन गर्ने ८३ वटा विद्यालयबिच विभिन्न खेलमा प्रतिस्पर्धा हुने तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरू भएको छ । आज दशरथ रङ्गशालामा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतियोगिताको उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले खेलकुद सामाजिक र सांस्कृतिक गतिविधिसँग जोडिएकोले शिक्षाको अभिन्न अङ्ग रहेको उल्लेख गरे ।

कार्यक्रममा महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले, बालबालिकाको सवल मानसिक अवस्था र उत्साहित भावनात्मक विकासमा खेलले सकारात्मक भूमिका खेल्ने बताए । ‘यी खेलहरू विगत बर्षमा विद्यालय परिसरमा आयोजना सीमित थिए । यस बर्ष वृहत बनाएर राष्ट्रिय खेल मैदानमा ल्याएका छौँ । यी खेलबाट अहिले नै राष्ट्रिय खेलाडी उत्पादन हुनुपर्छ भन्ने होइन । खेलबाट प्राप्त हुने उर्जाले जीवनलाई व्यवस्थापन गर्न ठूलो सहयोग पुर्‍याउँछ । यसका लागि पनि शिक्षा र खेललाई समान महत्व दिएर अगाडि बढाएका छौँ,’ उनले भने ।

आजबाट सुरूभएको खेलमा ३,२५० जना छात्रछात्रा खेलाडीले प्रतिस्पर्धा गर्नेछन । जसमा भलिवल खेलमा ८ सय जना, कबड्डी खेलमा ८ सय जना, तेक्वान्दो खेलमा ३ सय जना, कराँतेमा ३ सय जना, उसुमा १ सय जना, एथलेटिक्समा १ हजार २५० जना खेलाडी प्रतिस्पर्धा गर्नेछन् ।आजैबाट रंगशालाको कभर्ड हलमा उसु, कराँते र भलिवल खेल सुरु भइसकेका छन् । खेलहरू १९ गतेसम्म चल्नेछन् ।



प्रतिक्रिया दिनुहोस !