२५ आश्विन २०८१, शुक्रबार

निर्वाचनमा पराजितलाई राष्ट्रियसभाको उम्मेदवार बनाउनु राजनीतिक व्यवस्थामाथि गम्भीर प्रहार भयाे : लामिछाने

प्रकाशित मिति :  9 January, 2024 3:57 pm


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निर्वाचनमा पराजित भएकाहरूलाई राष्ट्रियसभामा उम्मेदवारी दिएकोमा आपत्ति जनाएका छन् ।

प्रतिनिधि सभा निर्वाचनमा हारेका कांग्रेस नेता कृष्णप्रसाद सिटौलालगायतलाई राष्ट्रिय सभाको निर्वाचनमा उम्मेदवार बनाउने कुराले राजनीतिक व्यवस्थामाथि नै ठूलो ढुंंगा प्रहार भएको जिकिर गर्दै उनले त्यसप्रति आक्रोश व्यक्त गरेका हुन् ।

मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकमाथिको दफावार छलफलमा भाग लिँदै सभापति लामिछानेले निर्वाचनमा हारेकाहरूलाई राष्ट्रियसभाको उम्मेदवार बनाउने कुराले यो व्यवस्थामाथि गम्भीर प्रहार भएको बताए ।

राष्ट्रका लागि भन्दा पनि राजनीतिक पार्टीका लागि काम गर्ने मान्छेलाई राष्ट्रियसभामा छान्ने कुरा पनि यो राजनीतिक प्रणालीमाथिको गम्भीर प्रहार भएकाले यसलाई रोक्नुपर्ने उनको भनाइ थियो ।

सभापति लामिछानेले राज्यका सबै जिम्मेवार निकायमा मेरिटबेस (योग्यतम) को आधारमा चयन गर्नुपर्ने प्रस्ताव गरे । संवैधानिक परिषद्को सदस्यहरूकाे नियुक्ति पनि मेरिट बेसको आधारमा गर्ने भनेर संविधान र कानुनमै व्यवस्था हुनुपर्ने उनको माग थियो ।

सभापति लामिछानेले राष्ट्र र जनताका लागि आवश्यक मान्छे छान्ने काम मेरिट बेसको आधारमा चयन गर्ने मान्यता विश्वव्यापी मान्यता भएको भन्दै सोहीअनुसार अघि नबढे मुलुकको प्रणाली र व्यवस्थामाथि भइरहेको हाईज्याकलाई रोक्न नसक्ने बताए ।

सभापति लामिछानेले विद्यमान व्यवस्था ल्याउनका लागि छातीमा गोली थापेकाहरुले यो व्यवस्थामाथि हाईज्याक हुन नदिन पनि अघि बढ्नुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !